सस्तोमा यातायात सेवा दिन चौरजहारी नगरपालिकाको नगर बस

रुकुम पश्चिममा रहेका ६ स्थानीय तहमा ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका पर्छन्, जसमा चौरजहारी नगरपालिका पनि एक हो । मध्यपहाडी लोकमार्गले छोएको, स्थानीय तहको संरचना आउनुभन्दा पहिले नै सरकारले मुख्य १० नमुना सहर बनाउने घोषणा गरेको र रुकुम, जाजरकोट अनि सल्यान जिल्लासँग जोडिएको चौरजहारी नगरपालिकाको पृष्ठभूमि अन्य स्थानीय तहहरूको भन्दा केही फरक छ ।
सिंगो रुकुम जिल्ला हुँदासमेत जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको चौरजहारी क्षेत्र भावी दिनहरूमा पनि व्यावसायिक कार्यका लागिसमेत सम्भावना बोकेको नगरपालिका हो । त्यही सम्भावनालाई मध्यनजर गर्दै चौरजहारी नगरपालिकाले केही नयाँ र महŒवपूर्ण कामको सुरुवात गरेको नगरप्रमुख विशाल शर्मा बताउँछन् । पहिलो नमुना काम हो, नगर बस सञ्चालन गरेर जनतालाई सस्तोमा यातायात सेवा प्रदान ।
संघीयतासहितको नयाँ संविधानपश्चात् बनेका स्थानीय सरकारहरूले जनताको सेवासुविधाभन्दा आफ्नो सेवासुविधामा मात्र ध्यान दिइरहेको आलोचना धेरै छ । जनतालाई नियमित यात्रादेखि बिरामी पर्दा चढ्ने एम्बुलेन्स सेवा नभए पनि जनप्रतिनिधिहरू भने लाखौंका गाडीमा गुड्ने गरेको कुरा नयाँ होइन । तर, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भने जनप्रतिनिधिहरू गाडीमा चढ्नुभन्दा पहिले नै बिरामीलाई एम्बुलेन्स र सर्वसाधारणलाई नगर बस सञ्चालन गरेर नमुना काम गरेको छ । नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगरपालिकाले एक वर्ष अघिदेखि नगर बस सञ्चालन गरिरहेको छ भने थप सडकमा सेवा विस्तार पनि क्रमशः गरिरहेको छ ।
यसअघि हिँडेर तथा अन्य सवारी सधानमार्फत महँगोमा यात्रा गरिरहेका स्थानीयहरू अहिले सहुलियत भाडामा नगर बसमार्फत यात्रा गर्दा दंग छन् । यसअघि अन्य गाडी तथा अटोरिक्सामार्फत ५ सयभन्दा बढी भाडा तिरेर यात्रा गर्दै आएका यात्रुहरू अहिले १ सय रुपैयाँको नगर बस टिकट काटेर यात्रा गरिरहेका छन् ।
त्यसमा पनि विद्यार्थी, अपाङ्गता भएका, सहिद परिवार र ज्येष्ठ नागरिकलाई ३० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यस्तै नगरपालिकाले सडक सञ्जाल विस्तारमा पनि जोड दिएको छ । नगर प्रमुख शर्माका अनुसार आफूहरूले चुनावअघि प्रत्येक वडामा सडक पु¥याउने र नगर बस सञ्चालन गरेर सेवा दिने घोषणा गरेअनुसार नगरपालिकामा रहेका १४ वटै वडामा सडकको सञ्जाल पुगेको छ ।
त्यस्तै चौरजहारी क्षेत्रमा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका जनतालाई सोलार पम्पिङमार्फत पानी तानेर खानेपानीको व्यवस्था गरिएको छ । सबैका लागि शिक्षा र गुणस्तरीय शिक्षा गराउन शिक्षक अपुग विद्यालयहरूमा नगरपालिकाले शिक्षकको पदपूर्ति गरेको छ भने बालबालिकाहरूलाई सरकारी स्कुलमा प्रोत्साहन गर्न ५ कक्षासम्मका विद्यार्थीहरूलाई निःशुल्क पोसाक वितरण गरेको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको छ । पोस्टमार्टम केन्द्र सञ्चालनका लागि कोटजहारी स्वास्थ्य केन्द्रमा भवन निर्माण गरिएको छ ।
त्यसका साथै देशकै मुख्य १० नमुना सहरका रूपमा काम भइरहेको चौरजहारीमा थप व्यवस्थित र दीर्घकालीन बनाउन नगरपालिकाले आफ्नो ठाउँबाट भूमिका खेलिरहेको छ । प्रत्येक वर्षजसो ३ सयभन्दा बढी युवालाई कुनै न कुनै रूपमा रोजगारीमा जोडेको नगरपालिकाको भनाइ छ । नगर तथा समग्र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि भेरी नदीमा जलयात्रा सुरु भएको छ, जसमार्फत रुकुम, सल्यान र जाजरकोटका नागरिकहरूले लाभ लिइरहेका छन् ।