सोलु करिडोरको मुआब्जा वितरण «

सोलु करिडोरको मुआब्जा वितरण

ओखलढुंगा-सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाले ओखलढुंगाका प्रभावित क्षेत्रमा मुआब्जा वितरण प्रक्रिया अगाडि बढाएको छ । प्रशारण लाइन तथा टावर निर्माण गर्नका लागि सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका निजी जग्गा धनीलाई मुआब्जा वितरण थालेको हो ।
आयोजनाका लागि जग्गा प्राप्ति निर्धारण उपसमितिले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसमा सरकारी दररेटअनुसार मुआब्जा रकम निर्धारण गरेर हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको उपसमितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद पौड्यालले बताए । जिल्लामा आयोजना प्रभावित १४९ कित्ताका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको पौड्यालको भनाइ छ ।
आयोजनाले जग्गा प्राप्ति निर्धारण उपसमितिलाई मुआब्जा वितरणका लागि १५ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । आयोजनाले प्रशारण लाइन क्षेत्रमा पर्ने सिरहा र उदयपुरको मुआब्जा वितरण सम्पन्न गरिसकेको छ भने सोलुखुम्बुमा गत बुधबारबाट विज्ञापन आह्वान गरेर मुआब्जा वितरण गर्न हकदाबी र भोगचलनको बारेमा सूचना प्रकाशन गरेर जग्गा प्राप्तिका लागि बाटो खुलाइएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिए ।
सोलु करिडोर आयोजना सोलुखुम्बु र ओखलढुंगा जिल्लामा दिगो विद्युतीकरण गर्ने र यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले निर्माण थालिएको हो । यो आयोजनाअन्तर्गत सिरहा–उदयपुर–ओखलढुंगा–सोलुखुम्बु विद्युत् प्रशारण लाइन निर्माण गर्ने र सोलुखुम्बुको तिङ्लामा सबस्टेसन बनाउने लक्ष्य राखिएको छ । जसअन्तर्गत प्रशारण लाइनको काम सिरहा र उदयपुरतर्फ भइरहेको छ । सबस्टेसनको काम आउँदो डिसेम्बरभित्रै सक्ने गरेर काम दु्रत गतिमा छ । विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीबीच २०१९ को मार्च २४ सम्ममा आयोजनाको काम सक्नुपर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस्