जानकी मन्दिर सौन्दर्यकरण गर्न शिलान्यास

जनकपुरधाम-प्रदेश नम्बर २ स्थित जानकी मन्दिर हिन्दूू धर्मावलम्बीको आस्थाको केन्द्र । धार्मिक पर्यटकीयस्थलको रूपमा विकास एवं समृद्धिका निम्ति मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यकरण गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बिहीबार संयुक्तरूपमा शिलान्यास गरेका छन् ।
बिहीबार मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकासमन्त्री सोनलले संयुक्त रूपमा शिलान्यास गरेपछि जानकी मन्दिरको सौन्दर्यकरणको कामको प्रारम्भ गरेका हुन् । मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार विकासमन्त्री सोनलले हिन्दू परम्पराअनुसार विधिवितरूपमा वैदिक मन्त्रोचारण गरी जानकी मन्दिरको सौन्दर्यकरणको औपचारिक रूपमा शुभारम्भ भएको हो । जानकी मन्दिर सौन्दर्यकरणको शिलान्यासका लागि मिथिलानी महिलाले जनकपुरधामको पवित्र गंगासागर पोखरीबाट माटो ल्याएर पण्डितले स्वस्ति वाचनसमेत गरे ।
जानकी मन्दिर सौन्दर्यकरणको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले विकासको कामको थालनी माता जानकीको मन्दिरबाट गरेको बताए । उनले हिन्दूहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरबाट विकासको कार्य सुरुवात गरिएकाले प्रदेशले विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए । जानकी मन्दिरलाई स्वच्छ एवं सुन्दर बनाएमा जनकपुरधाम मात्र नभई प्रदेश दुई र सिंगै देश नेपाल त्यसबाट लाभान्वित हुन सक्ने मुख्यमन्त्री राउतको भनाइ थियो ।
जानकी मन्दिर सौन्दर्यकरणका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारको यो पहिलो विकास कार्यक्रम रहेको बताउँदै यसलाई पूरा गर्नका लागि अपुग हुने रकम प्रदेश सरकारले व्यहोर्ने स्पष्ट पारे ।
प्रसिद्ध ऐतिहासिक धार्मिक जानकी मन्दिरको सौन्दर्यकरण गर्ने काम बिहीबरबाट सुरु भएको छ । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रदेश नम्बर २ को सरकारले ७ करोड २१ लख रुपैयाँको लागतमा गर्न लागेको सौन्दर्यकरणको काम औपचारिक समारोहबीच शिलान्यास गरिएको छ ।
जानकी मन्दिर सौन्दर्यकरणका लागि तीनवटा प्रवेशद्वारको मर्मत संभार, जानकी मन्दिर परिसरभित्र मार्बल, ग्रे नाइट लाइट र जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्वारमा चरण गंगा निर्माण हुने डिजाइनर प्रभाकर चौधरीले जानकारी दिए । चौधरीले जानकी मन्दिर सौन्दर्यकरणको ठेक्का आरजे रञ्जन कम्पनीले लिएको जनाए ।
–किरण कर्ण