एमाले संसदीय दलको बोर्ड गठन «

एमाले संसदीय दलको बोर्ड गठन


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले नेकपा(एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
संसदीय दलको उपनेता शुभाषचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने संसदीय बोर्डमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटिएको छ ।
त्यसैगरी सदस्यहरुमा सुमन प्याकुरेल, बिमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बि.क. रहेको सांसद तामाङले जानकारी दिए । त्यस्तै बैठकले नेकपा(एमाले)को संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको छ । संसदीय दलको अर्को बैठक चैत ७ गते बोलाइएको छ ।

माधव–झलनाथ समूहको राष्ट्रिय भेला सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।
बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडि बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समूहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडि बढ्ने निर्णय गरेको नेकपा(एमाले) का नेता योगेश भट्टराईले बताए ।
सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युँताएको अवस्थामा माधव समूहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरुलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले षड्यन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए ।
भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए ।
राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुर्नगठन अभियान शुरु भएको बताए । ओलीले आफूहरुसँग सल्लाह नगर्ने एकलकाटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उनको भनाइ छ । आफूहरु २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटी बैठकमा जाने भएपनि ओलीले अवैधानिक रुपमा थपेर विस्तार गरिएको फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने पनि उनले स्पष्ट पारे । ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसंघर्ष जारी राख्ने उनको भनाइ छ । आफूहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्