जनगणनाका लागि मुगु जिल्लामा गणना कार्यालय स्थापना

मुगु- हिमाली जिल्ला भनेर चिनिने मुगुमा १० वर्षपछि जनगणना गर्नका लागि जनगणनाको कार्यालय स्थापना गरिएको छ ।
कार्यालयको स्थापनासँंगै विधिवत रूपमा जनगणनाको काम सुरुवात गर्ने भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुर्ने भएको हुँदा मुगुमा पनि जनगणना सुुरु हुने भएको छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक देशभर जनगणना हुन थालेको हो ।
नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.सं १९६८ देखि सुरु भएको थियो । नेपालमा प्रत्येक १०–१० मा जनगणना गर्ने गरिन्छ । जिल्लामा जनगणना २०७८ का लागि १ सय १० जना जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक १८ जना र गणक ८० जना सदरमुकाम गमगढीमा रहेको कार्यालयमा ६ जना, सोरु र खत्याड शाखा कार्यालयमा ३÷३ जना कर्मचारी हरने तथ्यांक कार्यालय मुगुका प्रमुख कृष्णप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।
गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकहरूले २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरूले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गरिने भएको छ । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने भएको छ । यसका लागि अनलाइनमार्फत फर्म भर्न सकिनेछ । अनलाइनबाट फर्म भरेकाबाट छनोट गरिने भएको छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि गएको माघ ११ गतेबाट चैत ११ गते २ महिनासम्म फर्म भर्न समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ गतेदेखि ११ सम्म कार्यालयमा गएर फर्म भर्न सक्नेछन् । इच्छुक फर्म नभरेका व्यक्तिलाई फर्म भर्न समेत चौलागाईंले बताएका छन् ।
अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको हो । शिक्षकलाई खटाउँदा पढाइमा समेत समस्या पार्ने भएको भन्दै सरकारले करारमा जनशक्ति लिन थालेको बताइएको छ । “बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस् भनेर करारमा लिन थालिएको हो,” चौलागाईले भने । यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ छ ।
जनगणनाका लागि चैत १ गतेदेखि जिल्लाहरूमा जिल्ला जनगणना कार्यालय स्थापना गरिने भएका छन् भने वैशाख १ गते देखि इलाका जनगणना कार्यालय स्थापना हुने तथ्यांक कार्यालय मुगुले बताएको छ । जिल्लामा २ वटा इलाका जनगणना कार्यालय रहने भएका छन् । जनसंख्यालाई आधार मानेर जनगणनाका कार्यालय स्थापना गरिने सहायक जनगरण अधिकारी जयराज कुमाईले बताएका छन् ।
सहायक जनगरण अधिकारी कुमाईका अनुसार जनगणनाबाट संकलन गरिने तथ्यांकले देशको नीति निर्माण गरी देशको विकास गर्न समेत महत्वपूर्ण सहयोग पुग्नेछ । भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि यसले भूमिका खेल्ने छ । त्यसै गरेर जनसंख्याको आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गरिने छ । कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइँ–सराई आदि विवरण संकलन गर्ने गरिन्छ । यसरी तोकिएका अधिकारीबाट प्रत्येक घरदैलोमा गई संकलन गरिएका सम्पूर्ण तथ्यांकलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ ।,