पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य «

पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य

कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक
सुर्खेत-
कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच वर्षमा वार्षिक प्रतिव्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु-याउने लक्ष्यसहित प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ वर्षभित्र कर्णालीका प्रत्येक नागरिकको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर पु-याउने महत्वकांक्षी योजना आयोगले अगाडि सारेको छ । आधार वर्षका रूपमा लिइएको आर्थिक वर्ष ०७६-७७ मा प्रतिव्यक्ति आय ६०६ रहेको छ । यस्तै कर्णालीको वार्षिक औषत आर्थिक वृद्धिदर आधार वर्षका रूपमा लिइएको आव ०७५÷७६ मा ५.७ प्रतिशत रहेकोमा पाँच वर्षभित्रमा १४.९ र २५ वर्षमा १०.५ प्रतिशत वृद्धि गरी राष्ट्रिय लक्ष्य भेटाउने लक्ष्य लिइएको छ । आर्थिक वर्ष ०८०-८१ सम्म कर्णाली प्रदेशलाई अतिकम विकसित प्रदेशबाट मध्यमस्तरमा स्तरोन्नति भई दिगो विकासका आवधिक लक्ष्य सूचकहरू हासिल गर्ने २५ वर्षमा वि.सं २१ सयसम्म विकसित प्रदेशमा रूपमा रूपान्तरण भएको हुने सोच प्रथम पञ्चवर्षीय योजनाले लिएको छ । त्यसका लागि लजविद्युत् उत्पादन, सम्भाव्यता खनिज तेल र रत्न पत्थर तथा अन्य खनिज पदार्थहरूको यथोचित उत्पादन र बजारीकरण गर्ने योजनामा उल्लेख छ ।
योजनाको दीर्घकालीन सोचका रूपमा ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा दिइएको छ । उक्त लक्ष्य १० हजार डलर पु-याउनका लागि कर्णालीले ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’ को नाराका साथ तीव्र दिगो विकास र रोजगारमूलक आर्थिक वृद्धि गर्नुपर्नेछ । सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता, आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवं दिगो सहर÷बस्ती विकास, उत्पादन र उत्पादकत्वमा अभिवृद्धिलगायतका काममा प्रदेश सरकारले जोड दिनुपर्नेछ । समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउने सोचलाई सार्वजनिक, निजी, सहकारी, सामुदायिक क्षेत्र र विकास साझेदारसँग लगानी र सहकार्यको मात्र बढाएर पूरा गर्ने रणनीति अपनाइएको छ । जुन सोचलाई तीन चरणमा पाँचवटा पञ्चवर्षीय योजनामार्फत २५ वर्षमा पूरा गरिने छ ।
योजना आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकायाका अनुसार पहिलो पञ्चवर्षीय योजना ०८०÷८१ सम्म ५ वर्षको हुनेछ । जसको गन्तव्य शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि पूर्वाधार र राष्ट्रिय नारा ‘समृद्धि र सुखको सिर्जना’ हुनेछ । दोस्रो र तेस्रो पञ्चवर्षीय योजना १० वर्षको हुनेछ । जसको अवधि आर्थिक वर्ष ०८१-८२ देखि ०९०-९१ सम्म हुनेछ भने गन्तव्य विकासमा तीव्रता, समृद्धिमा अग्रता र समृद्धि र सुखको तीव्रता नारा हुनेछ । यस्तै चौथो र पाँचौं पञ्चवर्षीय योजना २१ सय-००१ हुनेछ । जसको गन्तव्य समृद्ध कर्णाली, सुखारी कर्णालीबासी हुनेछ ।

दुई सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य
प्रथम पञ्चवर्षीय योजनामा विद्युत् उत्पादन हाल ८.२५ मेगावाटबाट बढाएर पाँच वर्षमा २०० र २५ वर्षमा ७ हजार मेगावाट पु-याउने लक्ष्य लिइएको छ । यस्तै विद्युत्मा पहुँच प्राप्त जनसंख्या ६७ प्रतिशतबाट बढाएर पाँच वर्षमा ९० र २५ वर्षमा सतप्रतिशत पु-याउने लक्ष्य लिइएको छ ।
यस्तै वार्षिक औषत आर्थिक वृद्धिदर पाँच वर्षमा १४.९ र २५ वर्षमा १०.५ पु-याउने लक्ष्य छ भने निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या हाल २८.९ प्रतिशत रहेकोमा पाँच वर्षमा १८ र २५ वर्षमा शून्यमा झार्ने लक्ष्य छ । यस्तै बहुआयामिक गरिबीमा रहेको जनसंख्या आधार वर्ष ०७५÷७६ मा ५१.२ प्रतिशत रहेकोमा पाँच वर्षमा २५ र २५ वर्षमा ३ प्रतिशतमा झार्ने लक्ष्य छ । यस्तै मानव विकास सूचकांक पाँच वर्षमा ०.५८८ र पच्चीस वर्षमा ०.७६० मा पु-याउने, अपेक्षित आयु ६७ बाट बढाएर पाँच वर्षमा ७० र २५ वर्षमा ८० पु-याउने, पाँच वर्षमुनिका बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ५८ बाट घटाएर पाँच वर्षमा ३५ र २५ वर्षमा ८ मा झार्ने, पाँच वर्षमुनिका कम तौल भएका बालबालिकाको प्रतिशत ३५.५ बाट घटाएर पाँच वर्षमा २० र २५ वर्षमा २० पु-याउने लक्ष्य छ । यस्तै साक्षरता दर ६६ बाट बढाएर पाँच वर्षमा ९५ र २५ वर्षमा ९८ प्रतिशत पु-याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्