क्षेत्रीय होटल संघ बर्दिया «

क्षेत्रीय होटल संघ बर्दिया


होटल संघ नेपालको १६औं शाखाको रुपमा क्षेत्रीय होटल संघ गठन भएको छ । संघको बर्दियामा आयोजित कार्यसमितिको बैठकले उक्त शाखाको विधिवत रुपमा अनुमोदन गरी संघका अध्यक्ष सृजना राणाले क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीलाई आवद्धताको प्रमाणपत्र हस्तान्तरण गरिन् ।
अध्यक्ष राणाले संघमा आवद्ध भएका बर्दियाका होटल व्यवसायीले सो क्षेत्रको पर्यटन विशेष गरी होटल उद्योगलाई संरक्षण, प्रवद्र्धनमा विशशेष भूमिका खेल्ने बताइन् । अध्यक्ष राणाले अति प्रभावित क्षेत्र होटल उद्योगलाई डिमाण्ड चार्ज छुट उपलब्ध गराउन विभिन्न निकायमा गरेको निन्तर प्रयास सकारात्मक भएको बताइन् । आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले संघले सातवटै प्रदेशमा अन्तरक्रियाको आयोजना गरिने पनि अध्यक्ष राणाले बताइन् ।
संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल संघका गतिविधिबारे जानकारी गराएका थिए भने महासचिव साजन शाक्यले संघले गरिआएको कामकारबाही बारे जानकारी दिए ।
नेपालगन्जका नगरप्रमुख डा. धवल शमशेर राणाले कोभिड–१९ को विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव नभएकाले व्यवसाय खर्चहरु धान्न नै नसक्ने अवस्थामा पुगी पर्यटन उद्योग विशेष गरी होटल उद्योगहरु जीर्ण नै बन्दै गएको बताए ।
सो अवसरमा केन्द्रीय होटल संघ र क्षेत्रीय होटल संघ नेपालगन्जका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्