सवारी साधन कारवाहीबाट दुई करोड संकलन «

सवारी साधन कारवाहीबाट दुई करोड संकलन

दाङ-ट्राफिक नियम उल्लंघन गरी चलाउने चालकलाई कारबाही गर्दा प्रहरीले ८ महिनाको अवधिमा करिब साढे २ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष साउनदेखि फागुनसम्म ट्राफिक नियम विपरीत चल्ने ४१ हजार ५० वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ४७ लाख ४० हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले सबै भन्दा धेरै राजस्व १४ हजार ३ सय २६ सवारी साधनलाई कारबाही गर्दा ९४ लाख ४५ हजार संकलन गरेको छ । त्यसैगरी गरी ४ हजार ४ सय ४२ वटा जीप र कारलाई कारबाही गर्दा २५ लाख ३३ हजार ५ सय, ३ हजार ४ सय ३३ वटा बसलाई कारबाही गर्दा १९ लाख १९ हजार ५ सय, ११ हजार ९ सय ७१ वटा ट्रकलाई कारबाही गर्दा ६८ लाख ३० हजार, ३ हजार ४ सय २५ टेक्टरलाई कारबाही गर्दा १९ लाख ४६ हजार ५ सय, ३ हजार ४ सय ५३ वटा अटोलाई कारबाही गर्दा २० लाख ६६ हजार गरी जम्मा २ करोड ४७ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
जसमध्ये ५ सय ७० चालक मादक पदार्थ सेवन गरी चलाएका, सिटबेल्ट प्रयोग नगरी गाडी चलाउने १ सय ५६ चालक, गाडीको क्षमता भन्दा बढी लोड बोक्ने टिप्पर लगायका ८ हजार ३८ सवारी साधन, गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने २ सय ९६ चालक, ट्राफिक नियम भन्दा बाहिर पार्किङ गरेका १५ वटा सवारी साधनहरुलाई यस आर्थिक बर्षको ८ महिनाको अवधिमा कारबाही गरी सचेत बनाउने काम गरेको ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले बताए ।
दाङमा बितेको आठ महिनाको अवधिमा एक सय ५० बढी सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने २ सय बढी घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अनुसार गएको साउनदेखि फागुनसम्म जिल्लाका विभिन्न स्थानमा भएका एक सय ५७ वटा सवारी दुर्घटनामा ४ बालक, १ बालिका, ५ महिला र ४७ जना पुरुष गरी जम्मा ५७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा साना र ठूला गरेर २ सय १५ वटा सवारी साधानहरु परेका छन् ।
सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए । चालकले लापरवाही गरेर मापसे गरेर चलाउने, ओभरस्पिड हुँदा कान्ट्रोल गर्न नसक्नु लगायतका कारण जिल्ला सवारी दुर्घटना बढी हुने गरेको उनले बताए । त्यस्तै कमजोर सडकको अवस्था, ओभरस्पिड, सडकमा ट्राफिक संकेत नहुनले पनि थप दुर्घटना हुने गरेको प्रमुख जिसी बताउँछन् । “जिल्लामा समग्रमा प्रति महिना ६÷७ जनाको मृत्यु हुने गरेको छ, त्यसको मुख्य कारण भनेको चालकको लापरवार्ही हो” जिसीले भने, “दुर्घटना न्यूनीकरणका लागि हरेक प्रयास गर्दा पनि रोकिन सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस्