इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरे । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आवद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ ।
पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरे । उनले अनलाइन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पु¥याउने बताए । उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउँदै अति नै मितव्ययी रहेकाले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरे ।
क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने, “पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुँदै गएकाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।”
कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताए ।