नेपालमा जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्रः पुष्पकमल दाहाल «

नेपालमा जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्रः पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए ।
मंगलबार अग्रणी सहिद सुकदेव गुरुङ सहिद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरूले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उनको भनाइ छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उनको भनाइ छ । उनले भने, ‘अस्ति संसद÷प्रतिनिधिसभा विघटन गर्ने भनेर जुन कुरा केपी ओली प्रधानमन्त्रीको रूपमा उहाँले गर्नुभयो त्यो भयानक ठुला षडयन्त्र थियो । नेपालका आदिबासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने । तपाईं हामीले अलि जातिय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको विल्ला भिराउने अनि आफूचाहिँ उच्चवर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षड्यन्त्र भएको छ ।’
अध्यक्ष दाहालले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताउनुभयो । प्राप्त अधिकारहरूलाई खोस्नको निम्ति माओवादी आन्दोलन र दाहाललाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्