कोरिया जान ५१० नेपाली युवासँग श्रम सम्झौता «

कोरिया जान ५१० नेपाली युवासँग श्रम सम्झौता

एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ ।
कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको हो । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी मागपत्र जारी गर्दा मंगलबारसम्म ५ सय १० नेपालीको श्रम सम्झौताका लागि पत्र आएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । यसमध्ये मंगलबारसम्म उत्पादनमूलक क्षेत्रमा २ सय ६४ र कृषि तथा पशुपालन क्षेत्रमा २ सय ४६ नेपालीको श्रम सम्झौतापत्र आइसकेको विभागका एक अधिकारीले जानकारी दिए ।
कोरिया सरकारले आफ्ना रोजगारदातालाई विदेशी श्रमिक माग गर्न त्रैमासिक रूपमा अनुमति दिने गरेको छ । यो श्रम सम्झौता दोस्रो त्रैमासिकमा नेपाली श्रमिकको माग प्रक्रियाअन्तर्गत आएको हो । एचआरडी कोरियाले फागुन २४ देखि २६ गतेसम्म कृषि क्षेत्रमा काम गर्न कोरिया जाने श्रमिकको मागपत्र जारी गर्न त्यहाँका रोजगारदातालाई अनुमति दिएको थियो । यसैगरी फागुन २७ देखि चैत ३ गतेसम्म उत्पादनमूलक क्षेत्रमा काम गर्ने विदेशी श्रमिकका लागि मागपत्र जारी गर्ने अनुमति दिएको थियो । शाखाका एक अधिकारीले भने यो पटक ७ सयदेखि ८ सयको माग आउने सम्भावना छ ।
एक वर्षदेखि भिसा लागेका र रोजगारदातासँग श्रम सम्झौता गरेका लगभग ६ हजार नेपाली कोरिया प्रवेश गर्न भने पाएका छैनन् । कोरियामा कोभिड संकट लम्बिँदै गएपछि नेपालीसहित १६ देशका विदेशी श्रमिकको प्रवेशलाई अस्थायी रूपमा रोक लगाउँदै आएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको एचआरडी र कानुन मन्त्रालयको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई सहजीकरण गरिरहेको भए पनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम कार्यालयले विदेशी श्रमिकको प्रवेश अनुमति दिएको छैन । कोभिड संकटका कारण हाल भिसा लागेर बसेका र श्रम सम्झौता गरेर भिसाका लागि बसेको संख्या ५ हजारभन्दा बढी छ । कोरिया सरकारले भिसा प्रक्रिया, माग र श्रम सम्झौताका सबै प्रक्रिया सुचारु गरे पनि प्रवेशमा रोक लगाउँदा ५ हजारभन्दा बढी नेपाली युवा अलमलमा परेका छन् । कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाए पनि जाने प्रक्रिया भने हुन सकेको छैन ।
एचआरडी कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको थियो । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्य व्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ ।
कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाइरहेको जनाए पनि नेपाल उच्च जोखिममा नै राखिएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई विकल्प दिएर खुला गर्ने बारेमा छलफल गरिरहेका छन । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्