तातोपानीमा २८ वटा कानुन निर्माण «

तातोपानीमा २८ वटा कानुन निर्माण

कार्य सम्पादनमा सहज
जुम्लाको तातोपानी गाउँपालिकाले हालसम्म २८ वटा ऐन, कानुन तथा कार्यविधि निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनको साढे तीन वर्षको अवधिमा तातोपानीले विभिन्न विषयसँंग सम्बन्धित २८ वटा ऐन कानुन निर्माण गरेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
सबै ऐन, कानुन तथा कार्यविधि संघ तथा प्रदेश सरकारसँंग नबाझिने गरी निर्माण गरिएको उनको भनाइ छ । धितालका अनुसार हालसम्म निर्माण गरिएका २८ वटा ऐन, कानुन र कार्यविधिमध्ये २१ वटा राजपत्रमा प्रकाशित भइसकेका छन् । ७ वटा ऐन कानुन प्रकाशनको तयारीमा छन् । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्थानीय सरकार सञ्चालनको पहिलो वर्षमा कानुन, कार्यविधि नहुँदा कसरी काम गर्ने भन्ने अन्योल भएकाले कार्यसम्पादन सजिलो गर्न कानुन निर्माणमै प्राथमिकता दिएको बताए ।
विषय विशेषज्ञसँंग छलफल तथा परामर्श गरी ऐन कानुन निर्माण गरे पश्चात पालिकाको पूर्वाधार विकासदेखि उद्यमशिलता, कृषि व्यवसाय प्रवद्र्धन, प्राकृतिक स्रोत संरक्षणका क्षेत्रमा काम गर्न सहज भएको अध्यक्ष न्यौपानेको भनाइ छ । तातोेपानी गाउँपालिकाले हालसम्म आर्थिक ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, पदाधिकारीको आचारसंहिता ऐन, बजार अनुगमन तथा निर्देशिका, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्था ऐन, शिक्षा नियमावली, गुनासो सम्बोधन व्यवस्थापन ऐन कार्यविधिलगायत करिब २१ वटा कानुन ऐन कार्यविधि २०७४ सालमा राजपत्रमा प्रकाशन गरी कार्यान्वन्यवमा छन् भने, प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ लगायत अन्य ६ वटा ऐन कानुन प्रकाशनको तयारीमा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले कार्यसम्पादनलाई सहज तथा विधि र पद्धतिअनुसार अघि बढाउन कानुन निर्माण गरिए पनि अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विभिन्न ऐन, कार्यविधिमा सजाय, जरिवाना स्थानीयको आयस्तरभन्दा बढी तोकिएकोले संशोधन गर्नुपर्ने र कानुन निर्माणसँंगै कार्यान्वयनमा जोड दिई परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले हामीले बनाएका ऐन कानुनले पछि आउने जनप्रतिनिधिलाई कार्यसम्पादनमा सहज हुने बताइन् । संघीयतालाई कार्यान्वयन गर्न पहिलो कार्यकाल कानुन निर्माणमा बितेकाले पछि आउने जनप्रतिनिधिले सहजरूपमा काम गर्ने वातावरण तयार भएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्