होटलको बेहाल अवस्था

विश्वभरि धूवाँरहित उद्योग भनेर पनि चिनिने होटल उद्योग बेहाल अवस्थामा रहेको छ । पर्यटनको मेरुदण्डका रूपमा रहेको होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदि भने डावाँडोल स्थितिमा रहेको छ । किनभने सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट फैलिन सुरु भएको महामारी नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारणले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै बिदा मनाउन निक्लने पर्यटकहरूको संख्या घट्यो । फलतः विश्वभरिकै होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदिको लगानी धरमरमा परेको अवस्था छ । अझ यो वर्ष त नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या गत वर्षको भन्दा लगभग ८१ प्रतिशतले घटेको छ ।
कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महŒवपर्ण कुरो के हो भने जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आबद्ध विश्व पर्यटन संगठन (युएन–डब्लूटीओ) को मान्यता रहेको छ । यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर दिसा–पिसाब गरेर बेलुकी बास बस्नचाहिँ भारततिरै जाने विदेशी पर्यटकहरूलाई पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल भगवान् मानिएको र बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।
सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेपछि हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको छ । यसरी भारतीयलगायत अन्य देशका पर्यटकहरूको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा समेत नयाँ होटल खुल्ने क्रम बढ्दो कममा रहेको छ । यसरी हेर्दा लगभग दुई वर्षअघिको तथ्यांकअनुसार नेपालका होटलहरूले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचको समयमा केही नभए तापनि १०÷१२ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटल क्षेत्रले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ, त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले नाफा कमाउने होइन कि सञ्चालन खर्चसमेत उठाउन कठिन पर्नेछ । उनीहरूमध्ये धेरैले आफ्नै पकेटको पैसाभन्दा पनि बैंक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । त्यसमाथि सहर वा बजार क्षेत्रमा खुलेका ‘होस्टेल’ र ‘होम स्टे’हरू ठूला वा भनौं तारे होटलहरूका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडौंलगायत सुविधासम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’हरू चलाउन दिनु हुँदैन भन्ने ठूला व भनौं तारे होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? यसतर्पm पनि सरकारको मातहत रहेको नियामक निकायले सोच्नुपर्ने देखिन्छ ।
नेपालमा हाल १५ वटा पाँचतारे होटल सञ्चालनमा आएको छ । त्यस्तै चारतारे होटलको संख्या १३ वटा छ भने तीनतारे होटलको संख्या ३३ वटा छ । उता दुईतारे होटलको संख्या पनि ४३ वटा रहेको छ । उता एकतारे होटलको संख्या ३५ वटा रहेको छ भने पर्यटकस्तरीय होटलको संख्या ५ सय २७ वटा छ । भनिन्छ, हाल होमस्टे मात्रै ५ सय ५७ वटा रहेका छन् । यसबाहेक होस्टल पनि सञ्चालनमा रहेको छ । जुन अवैध रूपमा चलेका छन् भन्ने भनाइ होटल व्यवसायीहरूको छ । जे होस्, होटल सचालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू ६–७ वटा ठूला तारे होटलहरू बन्दै छन् ।