कम सुत्ने मानिसमा डिप्रेसनको खतरा «

कम सुत्ने मानिसमा डिप्रेसनको खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन) को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको विघंटन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य फेला पारेको हो ।
सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।
विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाइ पाइएको पनि उल्लेख गरेको छ ।
आठ घण्टाभन्दा कम सुत्ने मानिसमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरूलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।
सुताइ नपुगेका मानिसमा आउने नकारात्मक सोचाइका कारण ध्यान एकत्रित गर्न गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
अनियमित सुताइ भएकाहरूमा नकारात्मक सोचको विकास हुने गरेको र उनीहरूको जीवनमै नकारात्मक असर असरसमेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।
अनुसन्धान टोलीका एक सदस्य जाकोब नोटाले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउन सक्ने खतरा देखिएको बताए ।
अनुसन्धानकर्ताहरूले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रूपमा र दिनमा कम्तीमा आठ घण्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्