पर्यटक आगमन थप सहज बनाइँदै

कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टिन हटाउने र अनअराइभल भिसा जारी गर्ने प्रस्ताव गरेको छ ।
नेपालमा पर्यटकलाई सहज आगमन गर्ने गरी परिमार्जित स्वास्थ्य प्रोटोकल जारी गर्ने विषयमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कारोबार दैनिकलाई बताए । ‘तयार भएको मापदण्डलाई कार्यान्वयनमा लान भने बाँकी छ,’ मन्त्री ढकालले भने, ‘यसअघिका स्वास्थ्य प्रोटोकल थिए । त्यसलाई परिमार्जित गर्दै नयाँ कार्यविधि बनाएका छौं । प्रमाणित हुने प्रक्रियामा छ । यसले पर्यटन आवागमन अझै सहज बनाउनेछ ।’ उनका अनुसार मुख्य सचिवले मन्त्रीपरिषद्ले गरेको निर्णयलाई हस्ताक्षर गरेर कार्यान्वयनका लागि पठाएपछि कार्यान्वयन हुनेछ ।
अहिलेको आवश्यकताको आधारमा कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको मन्त्री ढकालको भनाइ छ । मन्त्री ढकालका अनुसार प्रस्तावमा खोप लगाएर प्रमाणपत्र भएका पर्यटकलाई निर्वाध घुम्न दिने, भारत तथा अन्य देशबाट आउने पर्यटकले ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउनुपर्ने, यसरी आएका पर्यटकलाई विमानस्थलमा नै पीसीआर परीक्षण गर्दा नेगेटिभ आएमा पर्यटकीय गन्तव्यमा जान दिने प्रस्ताव गरिएको छ ।
यसअघिका स्वास्थ्य प्रोटोकललाई भने अनिवार्य गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालना पनि सुनिश्चित हुने गरी कोरोनापछि पर्यटन क्षेत्रलाई पनि चलयमान बनाउने रणनीतिस्वरुप मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको मन्त्री ढकालले बताए ।
हाल कार्यान्वयनमा रहेको स्वास्थ्य मापदण्ड अनुसार पर्यटन आगमन सहज नभएको ठहर गरी निजी क्षेत्रबाट प्राप्त सुझावलाई लिएर पर्यटक आगमनमा सहजता प्रदान गर्न मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गरेको जनाएको छ । मन्त्रालयका अनुसार पर्यटक आगमनलाई पुरानो लयमा नै फर्काउने गरी हाल भएको स्वास्थ्य सुरक्षा मादण्डलाई केही लचकता प्रदान गरेर प्रस्ताव पेश गरिएको छ ।
सरकारले हाल विदेशस्थित नेपाली दूतावासबाट जारी, सरकारबाट स्वीकृति लिएका, ट्रेकिङ र साहसिक पर्यटकमा जाने पर्यटकलाई सम्बन्धित संस्थाको सिफारिसमा भिसा प्रदान गर्दैं आएको छ । नयाँ कार्यविधिमा कोरोना तथा यात्रा बिमा कायमै राखिएको छ ।