गुल्मीमा प्याराग्लाइडिङको सम्भावना «

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना रहेको सरोकारवालहरुले बताएका छन् । १५ दिनको प्याराग्लाइडिङ महोत्सवपछि स्काइलाइन प्याराग्लाइडिङ पोखराका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्न सक्ने बताए । जिल्लाको मालिका गाउँपालिकाको देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त भएको उनले जानकारी दिए ।
१५ दिनसम्म सञ्चालन भएको मालिका प्याराग्लाइडिङ महोत्सवमा ८६ वटा उडान भएका छन् । अर्खबाङ्ग बजार व्यवस्थापन समिति र मालिका गाउँपालिकाको सहकार्यमा प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो । प्याराग्लाइडिङ चढ्नका लागि प्रतिव्यक्ति २ हजार मात्र तोकिएको गाउँपालिकाले जनाएको छ ।
“शुरुमा त मनमा कताकता डर लागेको थियो तर धेरै जना उडेको देख्दा मनको डर पनि बिस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरेँ” गाउँपालिका उपाध्यक्ष देवा अर्यालले भनिन्, “प्याराग्लाइडिङ चढेपछि नयाँ अनुभव भयो ।”
आकाशमा उड्दा सुन्दर पाखापखेरा र डाँडाकाँडा नजिकबाट देख्दा निकै रमाइलो लागेको उनले बताइन् । मनोरञ्जनसँगै अरुलाई पनि उत्साह दिनका लागि आफूले प्याराग्लाइडिङ गरेको उपाध्यक्ष अर्यालको भनाइ छ । मालिका गाउँपालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यहरुको खोजीमा टेवा पु¥याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको हो । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचुर सम्भावनाहरु रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ ।
मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यावसायिक हब बन्न सक्ने भन्दै पालिकाको तर्फबाट आउने दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने बताए । बाह्य पर्यटकहरुले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङको लागि उपयुक्त गन्तव्य हुन सक्ने थापाले बताए ।
व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाको तर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । गाउँपालिका आफैंले महोत्सव सञ्चालन नगरे पनि स्थानीय संघ संस्थाहरुले गरेका कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्