घलेम्दी हाइड्रो ९० प्रतिशत सम्पन्न «

घलेम्दी हाइड्रो ९० प्रतिशत सम्पन्न

म्याग्दी-जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । राउन्ड अन्नपूर्ण पदमार्गको आधार शिविर रहेका कारण पर्यटकीय गाउँको रुपमा चिनिएको न्यारच्याङ जलविद्युत् आयोजनाहरु भित्रिएसँगै हाइड्रो भिलेजको रुपमा विकास भएको छ । जलविद्युत् आयोजनाले निर्माणकार्यलाई तीव्रतासँगै ५ सय घरधुरी रहेको नारच्याङबासीले लगानीसँगै रोजगारको सिर्जना भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । ५ मेगावाटको घलेम्दी हाइड्रो लिमिटेडको ९० प्रतिशतभन्दा बढी काम सकिएसँगै यसै वर्षभित्र उत्पादनको तयारी गरेको हो ।
१ हजार ७ सय मिटर लामो सुरुङको फिनिसिङ, इन्टेक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा छ । आयोजनाले आगामी चैत महिनामा परीक्षण उत्पादन लिने लक्ष्यसहित कामलाई तीव्रता दिएको कम्पनीका सञ्चालक सदस्य राजेश शाक्यले बताए ।
वि.सं २०७१ साल कात्तिकदेखि सुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । म्याग्दीका उद्योगी, ब्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको यो आयोजनाको २०७५ चैतभित्र उत्पादन गर्ने लक्ष्य छ । भौगोलिक बनावट र ढुवानीको लागत बढेको छ । जसले गर्दा ९० करोड लगानीमा सक्ने लक्ष्य भए पनि अहिले १ अर्ब १५ करोड उत्पादनसम्म लगानी लाग्ने आयोजनाका कार्यालय प्रमुख विमल रिजालले जानकारी दिए । निलगिरिखोलाको किनारमा विद्युत्गृह निर्माणले तीव्रता पाएको छ ।
आयोजनामा ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा भने लुम्बिनी र टुरिज्म डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । ४ मेगावाटको आयोजनालाई क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । आयोजनामा म्याग्दीका ब्यवसायीको लगानी र रोजगारीको क्षेत्रमा स्थानीयलाई प्राथमिकताका साथ दैनिक दुई सयभन्दा बढी जनशक्ति परिचालन भएका छन् ।
त्यस्तै ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत् आयोजनाले समेत न्यारच्याङमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । यसको लागत ५ अर्ब रहेको छ। निलगिरिखोलाबाट ३८ मेगावाटको र ६२ मेगावाटको उत्पादन गर्न अहिले सडक विस्तारलाई अगाडि बढाएका छन् । उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि म्याग्दीको दानामा र २२० केभी क्षमताको सबस्टेसन निर्माणले तीव्रता पाएको छ ।
आयोजनाले जलविद्युत्को निर्माणकार्य पूर्वनारच्याङमा ६ किलोमिटर सटक विस्तारसँगै तीनवटा मोटरेवल पुल निर्माण गरेको छ । वि.सं २०४४ देखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लाको जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो ।
समयमै आयोजना निर्माण भयो भने नारच्याङ जलविद्युत् गाउँको रुपमा मात्रै विकसित हुने छैन । यसले समग्र अन्नपूर्ण गाउँपालिका, म्याग्दी जिल्ला र प्रदेश नम्बर ४ कै अर्थतन्त्रमा योगदान पुर्याउदै देशको लोडसेडिङ हटाउने सरकारको अभियानमा समेत टेवा पुग्ने देखिन्छ ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्