दातृ निकायले टेन्डर प्रक्रियामा निर्माण व्यवसायीको आपत्ति «

दातृ निकायले टेन्डर प्रक्रियामा निर्माण व्यवसायीको आपत्ति

काठमाडौं-नेपाली निर्माण व्यवसायीहरू सहभागी हुनै नपाउने गरी एसियाली विकास बैंकलगायतका दातृ निकायले टेन्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी एडीबी लगायतका दातृ निकायको ऋण सहयोगमा आह्वान हुने अर्बौंको ठेक्कामा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा गर्नै नपाउनु कुनै पनि दृष्टिकोणबाट जायज नभएको बताएको छ । स्वदेशी निर्माण व्यवसायीलाई अन्तर्राष्ट्रिय निर्माणकार्य गर्नका निमित्त क्षमतावान् बनाई निर्माण व्यवसायको क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्नेमा त्यसको ठीकविपरीत राष्ट्रले ऋण व्यहोर्नु पर्ने र राष्ट्रबाट पुँजी विदेशिने किसिमले भैरहेको काम कारबाहीप्रति महासंघले विरोध जनाएको हो । दातृ निकायको ऋण सहयोगमा सञ्चालन हुने आयोजनामा नेपाली निर्माण व्यवसायीको मापदण्ड नै नपुग्ने गरी प्रावधान राखिएपछि नेपालकै निर्माण कार्यमा नेपाली व्यवसायी सहभागी हुन नपाउने अवस्था आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
नेपाली निर्माण व्यवसायीलाई नेपालमै हुने ठेक्कापट्टामा वञ्चित गरेर विदेशीलाई मात्रै ठेक्का सुम्पिन सुनियोजित रूपमा प्रावधान बनाइएको भन्दै महासंघले आफ्नै देशमा निस्केका ठेक्कामा जोइन्ट भेन्चर्सका रूपमा समेत काम गर्न नसक्ने प्रावधान कसको इसारामा केका लागि राखिएको हो प्रष्ट पार्न सरोकारवाला निकायसमक्ष माग गरेको छ । करिब १८ अर्बको लागतमा निर्माण हुने ८७ किलोमिटर लामो कञ्चनपुर–कमला सडक खण्डका लागि नेपाली निर्माण व्यवसायीले प्रतिस्पर्धा नै गर्न नपाउने गरी एसियाली विकास बैंकले टेण्डर आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यसअघि बुटवल–नारायणगढ सडक खण्डको टेन्डरमा पनि विदेशी कम्पनीमात्र सामेल हुने गरी प्रक्रियाअघि बढाइएको महासंघले जनाएको छ । नेपाल सरकार, सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) द्वारा टेण्डर आह्वान गर्दा सिंगो खण्डलाई बढीभन्दा बढी स्वदेशी निर्माण कम्पनी सहभागिता हुने गरी साना तथा मझौला आकारका प्याकेज बनाई टेण्डर आह्वान गर्ने प्रचलन रहेको स्मरण महासंघले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्