वनजन्य उद्यममा लगानीको वातावरण बनाउन माग

सरोकारवालाहरुले वनजन्य उद्यममा लगानीमैत्री वातावरण सिर्जना गर्न माग गरेका छन् । पछिल्लो समय वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको अनियमितताका कारण लामो समय काठ ओसार पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिवन्धका कारण कच्चा पदार्थको अभाव भई निजी लगानी धरासायी भइरहेको भन्दै वनजन्य उद्यम व्यवसायीहरुले लगानीमैत्री वातावरण सिर्जना गर्न माग गरेका हुन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार हालसम्म वन उद्योग करिव ५ हजारभन्दा बढी वन उद्योगमा निजी क्षेत्रको करिब ८६ अर्ब लगानी रहेको छ ।
महासंघका निर्वतमान अध्यक्ष श्यामसुन्दर ढकालले वनमा लगानी गर्नका लागि निजी क्षेत्र उत्साहित भए पनि लगानीका लागि सहज वातावरण नभएको टिप्पणी गरेका छन् । “लगानीमैत्री वातावरण नै छैन, कोभिडका कारण धरासायी बनेको हाम्रो लगानी कच्चा पदार्थको अभाव भयो, लामो समय काठमा लगाइएको प्रतिवन्धका कारण हाम्रा काठ मिलहरु बन्द हुने अवस्थामा पुगे” उनले भने, “सरकारले लगानीमैत्री वातावरण बनाउनका लागि राज्यले नै लगानीमैत्री वातावरण सिर्जना गरिदिनुपर्छ, हरेक ठाउँमा गुण्डागर्दी छ, समाना हामीले नै गर्नुपर्छ, काठ आयात गर्नुपरेको छ ।” वनमा गरिएको लगानी दीगो र सुरक्षित नभएका कारण पनि बैंकले लगानीका लागि ऋण दिन आनाकानी गर्ने उनको भनाइ छ ।
वन तथा वातवरण वनजन्य उद्यममा व्यवसायीहरुको लगानी सुनिश्चित गर्नका लागि सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको वनमन्त्री प्रेम आलेले बताए । “हामी समृद्धिको पक्षमा छांै, तर हाम्रो बद्नाम गराउनका लागि केही तत्वहरु सक्रिय भएर लागेको देखियो,” उनले भने, “वनजन्य उद्योग बढाउनुपर्छ, अनि मात्रै वनबाट रोजगारी सिर्जना हुने छ, हामीले वनबाट आर्थिक समृद्धि र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम लिएर अगाडि बढ्ने योजना बनाएका छांै ।”
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले पनि अबको नयाँ वन व्यवस्थापनको अवधारणा वनजन्य उद्यमको विकासबाट रोजगारी वृद्धि गर्नुपर्ने बताइन्् ।