आर्थिक विकासको मार्गचित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा अहिले रातदिन काम धमाधम सुरु हुँदै छ । गौरवका धेरै आयोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पनि मुलुकको राष्ट्रिय विकासको पूर्वाधारको आयोजनाभित्र पर्ने एक मुख्य आयोजना हो । काठमाडौंदेखि धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २.३३ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।
यो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना १६ महिनाभित्र सक्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार, सार्वजनिक यातायातका लागि निर्माण गर्न लागेको सुरुङको लम्बाइ २.६७ किलोमिटर र चौडाइ ३.५ किलोमिटर अनि दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किलोमिटर र पश्चिम लम्बाइ ०.५६५ किलोमिटर निर्माण हुनेछ । यस नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा दिनरात चौबीसै घण्टा ४ सय ५० प्राविधिक जनशक्तिको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।
यस सुरुङमार्गको जिम्मा भने जापानको निर्माण कम्पनी हाज्मा एन्दो कर्पोरेसनले लिएको छ । यस आयोजनाले काठमाडौंदेखि धादिङसम्म सहजै आवतजावत गर्न सकिन्छ भने विभिन्न व्यावसायिक क्षेत्रहरूमा पनि यस गौरवको आयोजनाले आम मानिसहरूलाई टेवा पुग्ने देखिन्छ । मुलुकको आर्थिक विकासको मार्गचित्र भनेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नै हो । यस्ता अरू पनि धेरै विकासका गौरव बोकेका आयोजनाहरू बन्ने क्रममा छन् ।
जस्तै— ठूलाठूला विद्युत्का हाइड्रो पावरहरू तथा ठूला गौरवको आयोजनामध्ये भेरी बबई सिँचाइ आयोजनालगायत रहेका छन् । तर, पछिल्लो समयमा राजनीतिक अस्थिरताले गर्दा हरेक विकासका आयोजनाहरू कतै आयोजनामा नै सीमित हुने त होइनन् भन्ने आशंका थपिँदै गएको छ । सत्ता र कुर्सीको मोहले गर्दा विकास–निर्माणमा पनि असर पर्छ भन्न सकिन्न, किनभने हामीले अनुभूति गरिसकेका छौं कि अब आएर मेलम्चीको पानी राजधानी आउँदै छ । सोचौं, मेलम्चीको पानी काठमाडौंको धारामा कहिले आउनुपर्ने थियो ? के कारणले गर्दा लामो समयसम्म मेलम्चीको खानेपानी आएन ? यसमा कसकसको मिलेमतो थियो ?
यस आयोजना निर्माणमा इटालीयन कम्पनीले जिम्मेवारी पाएकोमा किन बीचैमा अलपत्र पा-यो ? हो, अब हामी विश्वस्त छौं, किनभने बन्न लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग परियोजना अब तोकेकै समय अर्थात् १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
यही सुरुङमार्ग पनि शिलान्यास भएको १४ महिनापछि चालू वर्षको गत पुसबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ साल कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.७६ किलोमिटरको सुरुङमार्गको शिल्यानास गरेका थिए । तर, त्यसको बाबजुत मुलुकमा कोभिड–१९ र आन्तरिक तयारीका कारण निर्माण ढिलो गरी सुरु भएको थियो । अब केही समय निर्माण ढिलो भए पनि २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सडक विभागको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएपछि धादिङ र काठमाडौं छोटो समयमा नै आवतजावत गर्न सकिन्छ भने समयको पनि बचत हुन्छ । त्यसैले यो मुलुककै गौरवको परियोजना भएकाले निर्धारित समय अबको १६ महिनाभित्रमै यो सम्पन्न होस् । आममानिसले सहज रूपमा यसको अनुभूति गर्न पाऊन् ।
मुलुकको ऐतिहासिक गौरवमय परियोजना भएकाले यसले मुलुकको खुम्चिएको अर्थतन्त्रलाई अझ बढी आर्थिक उन्नतिमा अगाडि बढ्नका लागि टेवा पु¥याई मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढ्नसमेत मद्दत पुग्ने देखिन्छ । यस्ता परियोजना नै हुन्, मुलकको विकासको मार्गचित्र ।