सिंजामा आँखा उपचार केन्द्र सञ्चालन «

सिंजामा आँखा उपचार केन्द्र सञ्चालन

जुम्ला– सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबारदेखि आँखा उपचार केन्द्र उद्घाटनसँंगै सञ्चालनमा आएको छ । स्थानीय नागरिकको राहतका लागि गाउँपालिकाको सहयोगमा जिल्लाकै पहिलो पालिकाका रूपमा सिंजामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो ।
सदरमुकाम खलंगामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिंजा क्षेत्रका नागरिकको राहतका लागि आँखा उपचार केन्द्र सञ्चालन भएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
सामान्य आँखाका बिरामी हुँदा पनि महंगो खर्च गरेर सदरमुकाम नै जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र सञ्चालन गरिएको अध्यक्ष रावलले उल्लेख गरे । उनले भने, “आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्थापन गाउँपालिका गरेको छ । सिंजा गाउँपालिकाका ८ वटै वडाका नागरिकले सस्तो सरलमा आँखाको उपचार सेवा सिंजामै पाउने छन् ।”
बर्खा लागेसँंगै धुलो धुवाँका कारण गाउँमा आँखाका बिरामी बढ्न थालेका छन् । बजार क्षेत्रभन्दा गाउँमा आँखाका विरामी बढी हुने भएकाले सिंजामै सञ्चालन गरिएको आँखा उपचार केन्द्रबाट हजारांै नागरिक लाभान्वित हुने सिंजा गाउँपालिकाको विश्वास छ ।
अध्यक्ष रावलले थपे, “सामान्य आँखाको समस्या हुँदा पनि सदरमुकाम आउजाउ गर्नुपर्ने, खान बस्न दोब्बर महँंगो खर्च हुने समस्या भोगिरहेका नागरिकले गाउँमै आँखा उपचार केन्द्र भएपछि सस्तो र छिटो छरितो सेवा पाउनेमा विश्वस्त छौं ।” गाउँमै आँखा उपचार केन्द्र सञ्चालन हुँदा सिंजा गाउँपालिका स्थानीय नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्