Logo

चालू आवभित्रै निजी आवास पुनर्निर्माण सक्ने प्रतिबद्धता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माण सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत (७ लाख २७ हजार १ सय २३) ले निजी आवास पुनर्निर्माण सुरु गरेको र त्यसमध्ये ४३ प्रतिशतले सम्पन्न गरेको जानकारी दिए ।
उनले गुनासो सुनुवाइ, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने बताए । अनुदान लिएर अहिलेसम्म घर पुनर्निर्माण नगरेकालाई घर पुनर्निर्माण गर्न आग्रह गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले झुठा विवरण पेश गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न आग्रह गरे ।
शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदाहरू पुनर्निर्माणमा भएको प्रगति विवरण पेश गर्दै उनले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरे ।
बैठकमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पहिला छुट भएका वास्तविक भूकम्प पीडितको पहिचान गर्न समस्या नरहेको उल्लेख गर्दै स्थानीय तहबाट प्रमाणीत भएर आए अनुदान पाउन सक्ने बताए । बैठकमा अधिकांश सांसदहरूले पुनर्निर्माणको प्रगति सन्तोषजनक भएको टिप्पणी गर्दै बैठकमा प्रस्तुत कार्ययोजना अनुसारका काम अघि बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्