राजीनामा नदिनु प्रधानमन्त्रीको अर्को गल्ती : पौडेल «

राजीनामा नदिनु प्रधानमन्त्रीको अर्को गल्ती : पौडेल

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन् । प्रधानमन्त्रीले संसद् पुनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ ।
शनिबार रिपोेर्टर्स क्लबको साक्षात्कारमा नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरुलाई फिर्ता हुन लिखित निर्देशन दिइएको सुनाए । अर्को पार्टीमा लागेको भन्ने सूचना भएकोले त्यसबारेमा स्थिति के हो भनेर स्पष्ट पार्नको लागि २४ घण्टाको पनि समय दिइएको उनले जनाए । उनले अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने पनि धारणा राखे ।
प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने अदृश्य घटना घटाउन सक्ने दाबी गरे । उनले आफूहरुले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो भएपनि आफूहरुलाई कुनै आपत्ति नहुने सुनाए । विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा भने उनले ओलीको कदमको प्रशंसा गरे । तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाइ छ ।
फरक प्रसँगमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे । उनले भने,‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन् । बरु, काठमाडौं बस्न अलिक कम गरेर जनताको माँझ बस्नुपर्छ भन्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्