सेयर लगानीकर्ता परिपक्व नभएका हुन् ? «

सेयर लगानीकर्ता परिपक्व नभएका हुन् ?

सेयर बजारका लगानीकर्ताहरूले विभिन्न हल्लाको पछि नलागी आफ्नो विवेक प्रयोग गरी बजारको स्थिति बुझेर लगानी गर्नुपर्ने देखिन्छ ।

देशमा राजनीति तरंगित भएसँगै सबैभन्दा पहिले सेयर बजारमा असर पर्ने गर्छ । आखिर लगानीकर्ताहरू केका आधारमा लगानी गर्छन् त ? देशमा हुने राजनीतिक खिचातानीलाई हेरेर, सरकारलाई हेरेर, दललाई हेरेर, मन्त्रीको अनुहारलाई हेरेर, कम्पनीको प्रतिवेदनलाई हेरेर, कम्पनीहरूको आर्थिक सूचकांकलाई हेरेर, बजारमा देखिने माग र आपूर्तिलाई हेरेर वा नेप्सेलाई हेरेर ? त्यसो त सेयर बजारका लगानीकर्ताहरूलाई हल्लाले पनि ठूलै प्रभाव पार्ने गरेको छ । सेयर बजारलाई हल्लाले हल्लाइरहेको छ भनेर भनिन्छ । कतिपय लगानीकर्ताहरू हल्लाको पछि लाग्ने गरेका पनि देखिन्छन् । पछिल्लो समयमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चको फैसला आउने भएपछि सरकारले संकटकाल लगाउँछ भन्ने हल्ला गरेका कारण त्यस दिन सेयर बजारमा पहिरो गएको थियो । के त कतिपय सेयर बजारका लगानीकर्ताहरू परिपक्व नभएकै हुन् त ? यस्तै, केही मिडियाहरूले हल्लाको भरमा समाचार सम्प्रेषण गर्दा सेयर बजारमा असर पर्ने गरेको छ । त्यसो त विगतमा पनि यस्तो हुने गथ्र्याे । हल्लाको खेती गर्नेहरू केही मिडिया मात्र नभई कतिपय सेयर बजारका व्यक्तिहरू, आफूलाई विश्लेषक भन्नेहरूले हल्ला चलाएर सेयर बजारलाई आपूm र आफ्नो समूहको अनुकूल बनाउने र केही माफिया प्रवृत्तिका लगानीकर्ताहरूले पनि हल्लाको खेती गरेर सेयर बजारमा प्रभाव पार्ने गरिरहेका छन् । तर पनि आखिर किन लगानीकर्ताहरू हल्लाको पछि लाग्छन् त ? कतिपय लगानीकर्ताहरू अपरिपक्व भएर नै हो त ? पछिल्लो समयमा सामाजिक सञ्जालहरूमा पनि विभिन्न व्यक्तिहरू, केही मिडियाहरू, केही आफूलाई विश्लेषक भन्नेहरूले विभिन्न स्टाटस पोस्ट गरेर लगानीकर्ताहरूलाई भ्रममा पार्ने गरिरहेका छन् । संकटकालको हल्लाले नेप्से घटेका बेला एक जना सेयर बजारका विश्लेषकले नेप्से २३५० मा झर्छ भनेर भने, यस्ता विश्लेषकहरूबाट लगानीकर्ताहरू टाढा नै रहनुपर्छ । ने
प्से घट्छ भनेर भनिदिँदा कतिपय लगानीकताहरू आत्तिएर साँच्चै घट्ने हो कि भनेर घटाएर भए पनि सेयरहरू बेचेर बाहिरिने गरेका हुन्छन् । यसले नेप्से घट्नेमा सहयोग पुग्ने गर्छ र नेप्से तल झर्छ । सेयर बजारमा नेप्से घट्ने–बढ्ने त भइ नै रहन्छ । यो सेयर बजारको नियमित प्रक्रिया हो । सेयर बजार सधैं बढि नै रहोस् भनेर आस गर्नु मुर्खता पनि हो । त्यसैले भन्नेले त सेयर बजारलाई हल्लाको बजार भनेर पनि भन्छन् ।
विगतमा केपी ओलीको कृपाले अर्थमन्त्री बनेका डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर ओरालो लागिरहेको सेयर बजारलाई झन् हल्लाइदिए । सेयर बजारमा पहिरो नै गयो । यसमा सेयर बजारका धेरैजसो लगानीकर्ताहरू बगे, अहिले भने केही पार लागेको छ भन्दा पनि फरक नपर्ला । त्यसैगरी विगतमा माओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईले पनि सेयर बजारलाई जुवाको संज्ञा दिँदा सेयर बजार क्र्यास हुने अवस्थामा पुगेको थियो । सेयर बजारलाई जुवा, अर्धजुवा भन्नु भनेको सेयर बजारप्रतिको अज्ञानता हो । त्यसैगरी पछिल्लो समयमा आफ्नो लयमा गइरहेको सेयर बजारलाई संकटकाल लाग्छ भन्ने हल्लाले हल्लाइदियो । कतिपय लगानीकर्ताहरू हल्लाको पछि लागेर, अरूको लहलहैमा लागेर घाटा बेहोरिरहेका हुन्छन् ।
सेयर बजारमा ठूला–ठूला पहिरो जाने भनेकै राजनीतिक कारणले हो भन्दा पनि फरक नपर्ला । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका बेला वाम गठबन्धनका कारणले गर्दा पनि सेयर बजारमा नकारात्मक असर परेको थियो ।
त्यसबेला वामपन्थीको सरकार सेयर बजारप्रति अनुदारवादी हुन्छ भनेर हल्ला चलाउँदा सेयर बजार ओरालो लागेको थियो । बेलाबेलामा चलाइने हल्लाले सेयर बजारमा ठूलो तरंग नै ल्याउने गर्छ । कहिले बैंकहरूबीच मर्जरको हल्ला चलाएर पनि सेयर बजारमा सेयरको भाउमा तलमाथि गर्ने गरिन्छ । पछिल्लो समयमा विभिन्न बैंकहरूको नबिल बैंकसँग मर्ज हुने हल्ला चलाएर बैंकहरूको सेयरको मूल्य बढाइएको थियो । यसलाई चलखेल पनि भन्ने गरिन्छ । त्यसैगरी सेयर बजारका कतिपय लगानीकर्ताहरू हल्लाको पछि लागेर सेयरको भाउ घटिरहँदा फेरि घट्छ कि भनेर डराएर घाटामा भए पनि सेयर बिक्री गरेर सेयर बजारबाट बाहिरिएका पनि छन् ।
त्यसैले सेयर बजारका लगानीकर्ताहरूले होल्ड पनि गर्न सक्ने हुनुपर्छ । सेयर बजारका लगानीकर्ताहरूले सेयर बजारसम्बन्धी वास्तविकता बुझेर आफ्नो विवेक प्रयोग गरेर आफूले लगानी गर्न लागेको कम्पनीको स्थिति बुझेर, जानेर, सेयर बजारको विशेषता बुझेर सेयर बजारमा लगानी गर्दाको जोखिम र प्रतिफलको लेखाजोखा गरेर अल्पकालीन र दीर्घकालीन लगानीको योजना बनाई लगानी गर्नुपर्छ । आफूलाई सेयर बजारको विश्लेषक भन्नेहरूले नेप्से यति अंक बढ्छ, यति अंक घट्छ भनेर भविष्यवाणी गर्नेहरूलाई कारबाही गर्नुपर्छ भनेर पनि कतिपय लगानीकर्ताहरू बताउँछन् । यसले पनि सेयर बजारमा असर पर्ने गरेको छ ।
सेयर बजारको विकास, विस्तार र सेयर बजारलाई स्वच्छ रूपमा अगाडि बढाउनका लागि सरकार पनि सेयर बजारमैत्री बन्नुपर्छ भने नियामक निकायहरू पनि दरिलो रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । सेयर बजारमा देखिने विकृति–विसंगतिहरूलाई पन्छाउने भनेको नियामक निकायहरूको जिम्मा हो । सेयर बजार सधैं एकैनासले अगाडि पनि बढिरहेको हुँदैन, सेयर बजारमा उतारचढाव भइ नै रहन्छ । सेयर बजार सधैं घटिरहने र सधै बढिरहने पनि भइरहँदैन । हुन सक्छ, कहिलेकाहीं यसले लामो समय पनि लिन सक्छ, तर सेयर बजार घटेपछि बढ्छ पनि । सेयर बजारका लगानीकर्ताहरूमा धैर्यता भने हुनुपर्छ । कतिपय लगानीकर्ताहरूमा धैर्यता नरहेको जस्तो पनि देखियो । हल्लाको पछि लागेर आत्तिने र डराउने गरेको देखिन्छ । राम्रा कम्पनीहरूमा दीर्घकालीन रूपमा लगानी गर्ने हो भने लगानीकर्ताहरू डराउन पर्दैन, हल्लाको पछि पनि दगुर्न पर्दैन । नेप्से ओरालो लागेको छ भनेर घाटामा सस्तोमा सेयर बेच्ने र बढिरहेको छ भने पनि हल्लाको भरमा अरूको लहलहैमा सेयर खरिद गर्नु पनि बुद्धिमानी होइन । लगानीकर्ताहरू सजग, सचेत र सेयर बजारसम्बन्धी जानकार भने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्