लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार «

लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

हेटौंडा– कला र साहित्यको माध्यमबाट नेपाली समाजमा महत्वपूर्ण योगदान दिएको भन्दै साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंकले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार शनिबार हेटौंडामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरको संयोजनमा हरेक वर्ष साहित्य तथा गीत संगीतको क्षेत्रमा योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गर्ने गरिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलाशका मुख्य न्यायाधीश शेषराज शिवाकोटी, बैंकका निमित्त कार्यकारी निर्देशक जगतकुमार अधिकारी, वरिष्ठ साहित्यकार तुल्सी थापालगायतले लम्साललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
२५ वर्षदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदै आएका लम्साललले ‘करण’ र ‘धरा’ गरी दुईवटा महाकाव्य प्रकाशन गरेका छन् । साथै गीति संग्रह, कविता संग्रह गरी झन्डै एक दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेको छ । मातृभूमि साहित्य समाजले लम्सालसहित अन्य दुई जना व्यक्तित्वलाई पनि सम्मानित गरेको छ ।
कविता, निबन्ध र मुक्तक संग्रह प्रकाशित गरी नेपाली साहित्यमा लामो समयदेखि योगदान पु¥याएको भन्दै मातृभूमिले संस्थाका संस्थापक देवराज खरेल र धार्मिक तथा ऐतिहासिक खोज र लेखनीमा योगदान पु¥याएको भन्दै केदारप्रसाद न्यौपानेलाई पनि सम्मानित गरेको छ । न्यौपानेले बागमती प्रदेशका १३ वटै जिल्लाका ऐतिहासिक , धार्मिक र सामरिक महत्वको बारेमा अध्ययन गरी पुस्तक तयार गरेका छन् । साथै उनले विभिन्न ऐतिहासिक गढी र किल्लाहरूको बारेमा समेत खोज र अनुसन्धान गरेका छन् ।
कार्यक्रमकै बीच हेटौंडेली कवि दिनेश शर्माको कविता संग्रह ’एउटा मृत्यु यो पनि’ विमोचन गरिएको छ । संग्रहमा शर्माले २०४७ सालयता लेखिएका ३१ वटा कविता संग्रहित गरेका छन् । कविता संग्रहमाथि साहित्यकार राजबाबु पहाडीले समालोचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा साहित्यकार सानुबाबु खनाल, हेमन्त ढुंगेललगायत एक दर्जन कवि तथा गजलकारले आफ्नो रचना बाचन गरेका थिए । मातृभूमिले शुक्रबार पनि विभिन्न १५ वटा विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको संस्थाका अध्यक्ष माधव पोखरेलले जानकारी दिए । २०५४ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्