कीर्तिपुरपछि लुम्बिनी र पोखराको छुट्टै ब्रान्डिङ «

कीर्तिपुरपछि लुम्बिनी र पोखराको छुट्टै ब्रान्डिङ


नेपाल पर्यटन बोर्डले कीर्तिपुरपछि लुम्बिनी र पोखराको छुट्टै चिनारी बनाई विश्वभर पु-याउन अभियान सुरु गरेको छ ।
विगतमा नेपाल र यसका पर्यटकीय क्षेत्रसहित चिनाउने अभियान गर्दै आएको बोर्डले निर्माणाधीन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पर्यटकीय आकर्षण बढाउनका लागि छुट्टै रुपमा प्याकेज बनाएर लुम्बिनी र पोखराको ब्रान्डिङ गर्ने प्रयास सुरु गरेको हो । यसअघि नेपालका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बोर्डले ‘सिटी अन द हिल’ ब्रान्डिङको कार्य पूरा गरिसकेको छ । बोर्डले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा साढे ७ लाख रुपैयाँमा ब्रान्डिङको लागि आधारभूत काम गरेको थियो ।
ब्रान्डिङ अन्तर्गत बोर्डले ब्रान्ड लोगो र गाइडलाइनका साथै कला कौशल झल्किने ब्रान्ड बुकको सामग्री तथा यससँग सम्बन्धित अडियो भिडियो तयार गरेको छ । गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महसुुस गरी ब्रान्डिङको शुरुवात गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
कोभिड–१९का कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र नयाँ रणनीति अनुसार बोर्डले नेपालका पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न कार्य सुरु गरेको बोर्डले जनाएको छ । बोर्डले पोखरा र लुम्बिनीको ब्रान्डिङ कार्य सुरु गरेको बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठले बताइन् । उनले भनिन्, “पोखरा र लुम्बिनीको ब्रान्डिङ अन्तर्गत सो गन्तव्यलाई प्रतिनिधित्व गर्ने गरी विश्वभर चिनाउने सामग्रीका साथै अडियो भिडियो तयार पारिनेछ ।”
बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरिसकेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ब्रान्डिङ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यहरुलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको छ । बोर्डले पोखरा र लुम्बिनीको यो आर्थिक वर्षमा नै ब्रान्डिङको काम सक्ने गरी १५ लाख रुपैयाँको लगानीमा ब्रान्डिङको काम गरिरहेको जनाएको छ । बोर्डले सरोकारवाला निकायसँगको छलफलबाट प्राप्त सुझावलाई समेटर ब्रान्डिङको काम गरिरहेको बताएको छ । बोर्डले लुम्बिनी ब्रान्डिङको शुभारम्भ भने आगामी वैशाख पूर्णिमाको दिन गर्ने गरी काम गरिरहेको जनाएको छ । लुम्बिनीको ब्रान्डिङ बुकलाई नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने गरी सहमति भैसकेको छ ।
‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ । त्यसको आफ्नै विशेषता हुन्छ,” बोर्ड प्रमुख रेग्मीले भने, “ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ ।”
बोर्डले जापानी वास्तुकलाविद् केन्जो टाँगेको आर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन गरेर लुम्बिनीको ब्रान्डिङ बुक तयार गरेको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ॐ माने पद्मे हुँको गुन्जना, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधीवृक्षलाई संयोजन गरिएको छ । यस्तै लुम्बिनीको नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू, प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई पनि स्थान दिइएको बोर्डले जनाएको छ । लुम्बिनीमा आन्तरिक र विदेशी गरी गरी वार्षिक करिब १६ लाख पर्यटक पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्