एमाले नै लोकतान्त्रिक पार्टी हो : मुख्यमन्त्री गुरुङ «

एमाले नै लोकतान्त्रिक पार्टी हो : मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट नेकपा एमाले बलात्कृत भएको बताएका छन् ।
पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गरे ।
उनले भने, “कम्युनिष्ट पार्टी भए पनि सबैभन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो । एमालेभित्र लोकतान्त्रिक आचरण छ ।” नेकपा एमालेले संसारका कम्युनिष्टहरुलाई संस्कार सिकाइराखेको दाबी गरेका मुख्यमन्त्री गुरुङले सर्वोच्चको अन्तिम फैसलाले पुराना पार्टी पूर्ववत् रुपमा व्यूँतियकोले एमाले अब बलात्कृत हुनबाट बचेको जनाए । दुई पार्टीहरु भौतिक रुपमा एकता भए पनि वैचारिक रुपमा एकता हुन नसकेको हुँदा हाल पार्टीमा विवाद उत्पन्नद भएको उनको दाबी थियो । गलत सम्झौताबाट एमाले हाल मुक्त भएको उनले बताए ।
नेकपा गण्डकी प्रदेश इन्चार्ज हुँदा आफूले बैठक र छलफल गर्न खोज्दा पार्टीलाई खेलाइराख्ने गरेको पूर्व माओवादी नेतालाई उनले आरोप लगाए । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने बलियो आधार भएको मुख्यमन्त्री गुरुङले जनाए । नेपाली राजनीति नयाँ कोर्षमा फर्किएकोले अब पुनः नयाँ सिराबाट सुरु गर्नुपर्ने उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीले देशको विषम परिस्थितीमा उचित निर्णय गरी आफूहरुको साख जोगाउनु पर्ने समय आएको उनको भनाइ थियो ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले महानगरको आर्थिक विकास र समृद्धिमा आफूहरु कटिवद्ध भएर लागेको बताए । यसअघि पोखरा महानगरपालिका कार्यालय अघिबाट सुरु भएको प्रभातफेरी कार्यक्रम न्यूरोड, सभागृहचोक, पृथ्बीचोक हुँदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्