नेपालमा कोरोनाको खोप भित्रिएसँगै विश्वस्त बन्दै जनता

कोभिड–१९ को प्रकोपबाट विश्व नै प्रभावित भएको छ । कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि लाखौं को संख्यामा मानिसहरूले ज्यान गुमाए, परिवार गुमाए र यसैको फलस्वरूप विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । धेरैजसो मानिसले आफ्नो रोजगारी गुमाए, व्यवसायहरू बन्द नै भयो । अझै नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा देशभर कोरोना प्रभावको सुरक्षाको हेतुले गरिएको लकडाउनका कारण यहाँ निम्न आयवर्गका मानिसहरूमा भोकमरी लाग्ने अवस्था आइसकेको थियो । देशमा अर्बौं रुपैयाँ राहतस्वरूप आए पनि सबैले राहत भने पाएका थिएनन्, कतिपय मानिसहरू कोरोनाले नभई भोकको पीडा सहन नसकी मृत्युको मुखमा पुगेका खबरहरू पनि सामाजिक सञ्जालमार्फत हामीहरूबीच आइराखेको थियो ।
यही आउँदो चैत ११ गते देशमा कोरोना भित्रिएको पनि एक वर्ष पुग्नेछ । यो एक वर्षमा देशमा आर्थिक उतारचढाव धेरै भइसकेको छ । लकडाउन गर्नु मात्र रोगको समाधान होइन, रोगसँग लड्न पनि शारीरिक तवरले बलवान हुनुपर्छ । जसका लागि ‘काम र दाम’ दुवै आवश्यक हुने हुनाले बिस्तारै हरेक क्षेत्रमा लागेको प्रतिबन्ध फुकुवा गरिँदै लगियो । अर्थतन्त्र बिस्तारै उकासिन खोज्दै छ । हरेक क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकाइएका कारण जनजीवन सामान्य बन्दै गएको जस्तो महसुस हुन थालिसकेको छ । सुरुसुरुमा धेरैजसो मानिसले मास्क लगाएर स्यानिटाइजर साथमा बोकी समय–समयमा हात स्यानिटाइज गरेको, साबुन–पानीले हात धोइराखेको देखिनथ्यो । तर, आजभोलि मानिसहरूको व्यवहार देखेर यस्तो लाग्छ कि के नेपालमा कोरोना संक्रमण देखिएको थियो र ? स्वयम् आफूलाई पहिले सार्वजनिक यातायातको सवारी गर्न डर लाग्थ्यो, तर आजभोलि यो सब सामान्य भइसकेको छ ।
अझै गाडीमा कतिपय मानिसहरूले त झनै मास्क समेत लगाएका हुँदैनन् । अहिले तरकारी बजार होस् या खाद्यान्न पसल, कपडा पसल जतासुकै भीडभाड बढेको छ र मानिसहरूले पहिलेको जस्तै सामान्य व्यवहार गर्न थालिसकेका छन् । सबैमा अब यो मनोभावना जागिसकेको छ कि कोरोना पनि अरू रोगजस्तै सामान्य रोग हो, जसलाई हामी रोग प्रतिरोधात्मक शक्ति बढाएर कोरोनालाई हराउन सक्छौं र झनै अब त खोप बनिसकेको छ । त्यसमाथि पनि नेपालमा कोरोना खोप अभियानको सुरुवात भएदेखि सम्पूर्ण नागरिकहरू ढुक्क भएका छन् ।
नेपालमा कोरोना खोप अभियानको सुरुवात २०७७ माघ १४ गते बुधबारबाट भएको हो र खोपको सुरुवात शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीज्यूलाई लगाएर गरिएको थियो । पहिलो चरणमा स्वेच्छिक रूपमा जोखिममा रहेका पेसा–व्यवसायका मानिस तथा भीडभाडमा काम गर्ने कर्मचारीदेखि स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी, पत्रकारहरू र फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरूलाई खोप दिइएको थियो ।
फागुन २३ गतेदेखि सुरु भएकोे दोस्रो चरणको कोभिड खोप अभियानमा ६५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराइनेछ । दोस्रो चरणको खोप औषधि पसल र प्रयोगशालामा काम गर्नेहरू, विश्वविद्यालय र विद्यालयमा काम गर्ने सबै कर्मचारी तथा सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीलाई पनि लगाइनेछ ।
खोप लगाइसकेपछि यसबाट हामी सुरक्षित हुनुका साथै अरूलाई हामीबाट जोगाउनेसमेत गर्छ । त्यसैले पहिलो चरणको खोप मात्र लगाएर हुँदैन, दोस्रो चरणको खोप पनि अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ । किनकि खोप लिएपछि पनि केही व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर, कोरोना संक्रमण भए पनि यसबाट हामी गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुने गर्छ । त्यसैले खोप लगाएपछि पनि हामीले सामूहिक दूरी कायम गरेर मास्कको प्रयोग सधैं गर्नुपर्छ । बारम्बार साबुन–पानीले हात धोइराख्नुपर्छ । किनकि कोरोनाको खोप आयो, तर कोरोना भने हटेको छैन र संक्रमित हुनुभन्दा पहिले नै संक्रमण हुन नदिनु उत्तम उपाय हो ।
—रन्जिता गिरी पोख्रेल