चीनसँगको व्यापार खस्किँदै

विज्ञ भन्छन्– कूटनीतिक प्रयास प्रभावकारी भएन
दक्षिणी छिमेकी भारतसँग नेपालको व्यापार बढ्दै गए पनि उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार भने घट्दै गएको छ ।
चीनसँग आयात–निर्यात हुने नाका नियमति रुपमा खुला नहुँदा व्यापार क्रमिक रुपमा ऋणात्मक हुँदै गएको हो । कोरोना महामारीको असर ले रसुवाको केरुङ नाका लामो समयदेखि बन्द भएर हालै खुला भएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयदेखि अवरुद्ध नै छ । नाका नियममित रुपमा खुल्न नसक्दा यो वर्ष चीनसँग हुने व्यापारमा उल्लेख्य कमी आएको छ ।
नेपालबाट निर्यात हुने सामान चीन जान सकेका छैनन् भने चीनबाट आउने सामान पनि नाकामा थन्किएर बसेका छन् । चीनबाट आयात हुने लत्ताकपडालगायत अन्य सामान आउन नसक्दा बजारमा महँगी बढेको छ । काठमाडौंको भृकुटीमण्डप, न्युरोड, खिचापोखरीलगायत अन्य बजारमा चिनियाँ सामान बढी बिक्री हुने गर्छ ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल नाका नियमति रुपमा खुल्न नसक्दा समयमा सामान आउन नसकेको बताउँछन् । “कोभिडका कारणले लामो समयदेखि सामान नाकामा रोकिँदा व्यवसायीलाई ठूलो क्षति भयो,” उनले भने, “अहिले पनि समय समयमा केरुङ नाका खुल्ने र बन्द हुने गर्दा सामान आउन कठिन भएको छ ।” व्यापारीलाई चीनले भिसा नदिएकाले सामान ल्याउन नसकिएको उनको भनाइ छ । चिनियाँ सामान अन्य मुलुकको तुलनामा सस्तो पर्ने भए पनि नाकामा देखिएको समस्याको कारण ढिलाइ हुँदा हाल महगो हुँदै गएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनासम्म चीनबाट १ खर्ब १६ अर्ब १२ करोड १० लाख ६२ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड ८१ लाख ७७ हजार रुपैयाँको सामान आयात भएको थियो । चीनबाट अघिल्लो आर्थिक वर्षको तुलनामा १६ अर्ब रुपैयाँ बराबरको सामान कम आयात भएको छ ।
चालू आर्थिक वर्षको सात महिनासम्म चीनमा नेपालबाट ५५ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत वर्ष सो अवधिमा ११ करोड ९२ लाख ३ हजार रुपैयाँको सामान निर्यात भएको थियो । यो वर्ष सात महिनाको अवधिमा चीनबाट आयात घटे पनि निर्यात भने बढ्न गएको तथ्यांकले देखाएको छ ।
व्यापार विज्ञ पुरुषोतम ओझा कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न नसकेको बताउँछन् । “चीनले अमेरिका, युरोपलगायतका विभिन्न मुलुकबाट आयात–निर्यात गर्दा कोभिडले कुनै समस्या नहुने तर नेपालबाट आयात निर्यात गर्दा समस्या हुने भन्ने हुँदैन,” उनले भने, “दुई देशबीचको कूटनीतिक पहल पर्याप्त नहुँदा व्यापार दिनप्रतिदिन खस्कँदै गएको छ ।” मुलुकबाट वार्षिक चीनमा दुई अर्बको निर्यात हुने तर आयात भने २ खर्बभन्दा बढीको हुने भएकाले दुई देशबीचको व्यापार सन्तुलन अत्यन्त बिग्रेको उनको भनाइ छ । व्यापार सन्तुलन ठिक ठाउँमा ल्याउनका लागि नेपाली वस्तुको निकासी प्रवद्र्धन नभएको र आयातित वस्तुमा बोर्डरको झमेलाले समयमा आउन नसक्दा व्यवसायीले धेरै नै समस्या भोगेका छन् ।
बेइजिङ, हङकङ, ल्हासा, गन्जाउ र छेन्दुलगायतका नाका चीनसँग जोडिएका छन् । जोडिएका नाकामध्ये तातोपानी र केरुङबाट पनि सामान आयात निर्यात हुन्छ । चीनले नेपालमा आयात बढाउने कुरामा पनि नाका बन्द गर्ने र सामान आउन नदिने अवस्था सिर्जना गर्नु नेपालको व्यापारको लागि राम्रो नभएको ओझाको भनाइ छ । मुलुकको ६४ प्रतिशत व्यापार छिमेकी मुलुक भारतमा हुने गर्छ ।