खानेपानी अभावमा होमस्टे प्रभावित «

खानेपानी अभावमा होमस्टे प्रभावित

उदयपुर-पिउने पानीको पर्याप्त व्यवस्था हुन नसक्दा जिल्लाकै पहिलो उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा सञ्चालित होमस्टे प्रभावित भएको छ ।
करिब तीन वर्ष यता सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पर्ने पानीको अभाव छ । पुरानो सदरमुकाम रहेको उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे सञ्चालन गरेका हुन् । करिब आधा दर्जन परिवारले यहा“ होमस्टे सञ्चालन गर्दै आएका छन् ।
पानीको भरपर्दो व्यवस्था नहुदा पाहुनाको बसाइ व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उदयपुरगढीमा वर्षौंदेखि पिउने पानीको समस्या छ । करिब २० किलोमिटर टाढाको मुहानबाट ल्याएको पानीले स्थानीयलाई पुग्दैन । पाइपलाइनबाट ल्याएको पानी पिउनमात्रै पनि नपुग्ने स्थानीय बताउँछन् । “पानीको उचित व्यवस्था नहुँदा होमस्टे सञ्चालनमा समस्या छ,” पंचावती सामुदायिक होमस्टे समिति अध्यक्ष इन्द्रकुमारी राईले भनिन्, “पाहुनालाई पिउने पानी नै दिनसक्ने अवस्था छैन ।” नुहाउने र लुगा धुने पानी नहुदा साता दिनको बसाइका लागि आएका पाहुना दुई दिन पनि नबस्ने उनी बताउँछिन् । “होमस्टे सञ्चालनका लागि अन्य पूर्वाधार भए पनि पानी नहुदा ज्यादै समस्या भएको उनको भनाइ छ ।
गाउँपालिकाले होमस्टे सञ्चालनमा सहयोग गरेको समिति सचिव रीताकुमारी धमलाले बताइन् । “पहिले जिविसले अन्य क्षेत्रमा सञ्चालित होमस्टेको अवलोकन भम्रण गरायो,” उनले भनिन्, “त्यहा“ सञ्चालित होमस्टे हेर्दा त्योभन्दा राम्रो यहा“ सञ्चालन गर्न सकिन्छ जस्तो लाग्यो ।” तर पानी, बिजुली र बाटोको स्तरोन्नति गर्न नसक्दा समस्या भएको उनले बताइन् ।
“पोखरा र बन्दीपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ,” धमलाले भनिन्, “तर नेपालटार उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रसस्त मात्रमा पानी उपलब्ध नहुँदा सोचेजस्तो गर्न सकिएको छैन ।”
“सेन वशंका राजाले राज्य गरेको उदयपुरगढी ऐतिहासिकस्थल हो,” स्थानीय केशव पाण्डेले भने, “सामरिक महत्व बोकेको ऐतिहासिक गढी भएकोले बर्सेनि मुलुकका विभिन्न भागबाट पर्यटकहरू आउने गरेका छन् ।” बाह्य र आन्तरिक पर्यटकका लागि बास व्यवस्थित गर्न उदयपुरगढीका महिलाले होमस्टे सञ्चालन गरेको उनले बताए ।
होमस्टेमा करिब ३० जना पर्यटकलाई सेवा सुविधा उपलब्ध हुने सञ्चालकले बताए । “स्थानीयस्तरमा उपलव्ध गुन्द्रुक, कोदोको डिँढो, मकै, भटमास, स्थानीयस्तरमा उत्पादन गरिएका खसी र कुखुराको मासुसहितले पाहुनालाई स्वागत गरिने समिति अध्यक्ष राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्