ह्वीलचेयर उपलब्ध गराउन एनआरएनएसँग सम्झौता «

ह्वीलचेयर उपलब्ध गराउन एनआरएनएसँग सम्झौता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका विभिन्न जिल्लाहरुमा परोपकारी तथा सामाजिक कार्यहरु स्थापनाकालदेखि नै गर्दै आएको छ ।
यस अन्तर्गत संघले समय–समयमा हिँडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वीलचेयरहरु एनसिसि जापानको सहयोगमा उपलब्ध गराउँदै आएको छ । संघको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एशिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले संघको स्थापनाकालदेखि नै जापानका विभिन्न संघ संस्थाहरुको सहयोगबाट ह्वीलचेयर नेपाल ल्याई हिँड्न नसक्ने व्यक्तिहरुलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गर्दै आएका छन् ।
हाल विभिन्न जिल्लाहरुमा हिँडडुल गर्न नसक्नेहरुको ठूलो संख्या रहेको छ र उनीहरुलाई ह्वीलचेयरको आवश्यकता रहेको छ । यसैलाई मध्यनजर गरेर नेपालमा हिँड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वीलचेयर उपलब्ध गराउन जापानको साकुरा ह्वीलचियर प्रोजेक्ट, मोविलिटी डिभाइस काठमाडौं र गैरआवासीय नेपाली संघबीच हालै एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा जापानको साकुरा ह्वीलचेयर परियोजनाको तर्फबाट अध्यक्ष साइटो सो, मोविलिटी डिभाइस काठमाडौंका अध्यक्ष कृष्णराज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका थिए ।
सो सम्झौतापत्रमा परोपकारी तथा मानवकल्याण हित समिति एशिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गरेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघका गतिविधिबारे जानकारी गराउँदै ह्वीलचेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजनाप्रति आभार प्रकट गरेका थिए । प्राप्त भएका ह्वीचेयर मोबिलिटी डिभाइससँग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्