Logo

खैरहनी महोत्सवमा राउटे र कुस्ती आकर्षण

भरतपुर-पूर्वी चितवनको खैरहनीमा आयोजना गर्न लागिएको खैरहनी महोत्सवमा लोपोन्मुख राउटे जाति मुख्य आकर्षक रहने भएको छ । पश्चिम नेपालको सुर्खेतमा रहेका राउटे जातिहरूको संस्कृति संरक्षण, प्रवद्र्धन तथा सीप प्रदर्शन गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उनीहरूको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जनाइएको छ । महोत्सवलाई आकर्षक कनाउन लोपोन्मुख राउटे जातिलाई ल्याउन लागेको आयोजक उद्योग वाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । करिब २५ जनाको महिला पुरुषको टोली आउने निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । मेला व्यवस्थापन समितिका संयोजक तथा संघका उपाध्यक्ष रामेश्वर पोखरेलले उनीहरूको जीवन संघर्षबारे अध्ययन गर्न महोत्सव फलदायी हुने बताए ।
उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा यही मंसिर १६ गतेदेखि २४ गतेसम्म खैरहनी २ लदरीखोला किनारमा महोत्सव हुदैछ । महोत्सवको अर्को आर्कषणमा अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता हुनेछ । नेपाल र भारतका गरी करिब २० जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाउनेछन् ।
महोत्सवमा करिब २ सय साधारण तथा ३ वटा विशेष स्टल रहनेछन् । ३ वटा विशेष स्टल उद्योग, कृषि र डेरीका रहने उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्