स्वास्थ्य सेवादेखि नागरिकतासम्म घरघरमै «

स्वास्थ्य सेवादेखि नागरिकतासम्म घरघरमै

हेटौंडा-मुलुक संघीय संरचनामा गइसकेपछि बनेको स्थानीय सरकारका जनप्रतिनिधिले जनताको हितमा पर्याप्त काम गर्न नसकेको भन्दै धेरै गुनासा सुन्ने गरिएको छ । तर, मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिको खटाइ र जिम्मेवारी बहनप्रति भने धेरैले प्रसंशा गर्ने गरेका छन् ।
नागरिकको घरघरमै पुगी औषधि उपचार गर्नेदेखि गाउँपालिका अध्यक्ष र वडाध्यक्ष स्वयं नै गाउँबासीको नागरिकता बनाउन सदरमुकामसम्म सँगै पुगेर सहजीकरण गर्नुले जनप्रतिनिधिको चर्चा चुलिएको छ । भौगोलिक विकटताका कारण समदरमुकामसम्म आएर बास नै बस्नुपर्ने र कागजातबारेको अनविज्ञताका नागरिक लिन असहजताका कारण विकट गाउँका धेरैले अझै पनि नागरिकता लिएका छैनन् । गाउँबासीको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले आइतबार खाजा, खाना र गाडीको समेत सेवा दिएर सदरमुकाम आई ६० जना स्थानीयलाई नागरिकता दिलाएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा र १ नम्बर वडाध्यक्ष कान्छाराम रुम्बा स्वयं जिल्ला प्रशासन कार्यालयमा पुगी नागरिकता लिन सहजीकरण गरेका थिए । वडाध्यक्षहरूले आवश्यक कागजात जुटाई प्रशासनकै प्राङ्गणमा बसी नागरिकताको सिफारिस दिएका थिए । जनप्रतिनिधिको सहजीकरणमा राक्सिराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका स्थानीयले आइतबार एकैदिनमा नागरिकताको प्रमाणपत्र पाएपछि उनीहरू दंग परेका थिए । ७१ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी राक्सिराङ–७ की चरिमाया चेपाङले ढिलै भए पनि नागरिकता पाएकोमा खुसी व्यक्त गरिन् । “नागरिकता बनाउने ठाउँ पनि देखेका थिएनौं । टाढाबाट हिँडेर आएर बास बस्नुपर्छ भन्ने सुनेका थियौं । खान बस्न पैसा छैन । आज वडाध्यक्षहरूले गाउँबाटै गाडीमा ल्याएर नागरिकता दिए, अब भत्ता पनि खान पाइन्छ रे,” चेपाङले खुसी हुँदै भनिन् ।
गाउँबासीलाई नागरिकता दिलाउन सहजीकरणका लागि धिराङ स्थायी निवासी बागमती प्रदेशसभा सांसद सन्तबहादुर प्रजासमेत दिनभर प्रशासन कार्यालयमा बसेका थिए । स्थानीयलाई चिउरा चाउचाउ ल्याएरसमेत खुवाए । विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन गाउँबासीले एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै आफूहरूले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
“विकट गाउँबाट नागरिकता बनाउन आउन यातायातको असुविधा, बास नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनविज्ञतालगायतको कारण गाउँका धेरैले नागरिकता लिएका छैनन् । नागरिकता नहुँदा उनीहरु राज्यका धेरै सेवा सुविधाबाट समेत वञ्चित छन्,” गाउँपालिका अध्यक्ष मल्लले भने, “नागरिकता बनाउन छुटेकाहरूको तथ्यांक संकलन गरी प्रशासनमै ल्याएर नागरिकता दिलाउने अभियान जारी राख्छौं ।”
घरघरमै स्वास्थ्य सेवा
गाउँपालिकाले ७० वर्षभन्दा माथिका वृद्धवृद्धा र अशक्तलाई घरमै पुगेर निःशुल्क औषधि उपचार सेवा दिइरहेको छ । गाउँपालिकाले ‘आमाबुबा बचाउ कार्यक्रम’ घोषणा गरी अशक्त र वृद्धवृद्धालाई घरमा उपचार सेवा प्रदान गरिरहेको हो ।
गाउँपालिकाले अशक्त र वृद्धवृद्धाको पहिचान गर्न एकजना अहेवलाई गाउँमा खटाएको छ । उनले गाउँगाउँ पुगी बिरामीको पहिचान गर्नेछन् र आवश्यकताअनुसार डाक्टरसहित खटिने टोलीले घरमै पुगी स्वास्थ्य जाँच गरेर आवश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछन् । गाउँमा गएको टोलीले अशक्त र वृद्धवृद्धाको जटिल समस्या देखिएमा तत्काल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौंको डाक्टरसँग भिडियोमार्फत जोडिएर आवश्यक परामर्श लिने सुविधासमेत गाउँपालिकाले उपलब्ध गराएको छ । बिरामीको अवस्था बुझेर डाक्टरले औषधि सिफारिस गर्नेछन् र गाउँपालिकाले उक्त औषधि उपलब्ध गराउनेछ ।

तालिम दिएर रोजगारको ग्यारेन्टी
गाउँबासीलाई रोजगार बनाउने उद्देश्यले राक्सिराङ गाउँपालिकाले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गर्दै विभिन्न तालिममार्फत रोजगार बनाउने अभियान चलाइरहेको छ । विभिन्न ७ प्रकारका तालिममार्फत रोजगारमा जोड्ने उद्देृश्यबमोजिम १६ जना युवालाई सेक्युरियटी गार्डको तालिम आइतबार सकिएको छ ।
गाउँपालिकाको आयोजना तथा जी फोर्स सेक्युरियटी प्रालिको प्राविधिक सहयोगमा भएको ७ दिने तालिमको आइतबार समापन गरिएको हो । तालिम लिएकालाई जिफोर्सले नै रोजगारीको ग्यारेन्टी लिएको छ ।
अध्यक्ष रोजगार कार्यक्रमअन्तर्गत यसअघि १६ जनालाई ड्राइभिङ तालिम दिएर रोजगारीमा लगाइसकिएको छ भने १० जनालाई होमस्टे तालिम प्रदान गरी गाउँमै होमस्टे खोल्न सुरु गरिएको छ । त्यसैगरी ३५ जनाले हाल १ महिने कम्प्युटर तालिम लिइरहेका छन् भने ब्यूटीसियन र इलेक्ट्रिसियन तालिम सञ्चालनको क्रममा रहेको गाउँपालिकाका लघुउद्यम विकास सहायक मानसिं घलानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्