प्रदेश–२ को बहुउद्देश्यीय परियोजनाको अध्ययन सुरु «

प्रदेश–२ को बहुउद्देश्यीय परियोजनाको अध्ययन सुरु

बारा-बागमती प्रदेशको राप्ती खोलालाई प्रदेश–२ मा भित्र्याउने उद्देश्यले प्रदेश–२ सरकारले राप्ती दुधौरा ड्राइभर्सन बहुउद्देश्य परियोजनाको अध्ययन, अकलोकन र सर्भे एकैसाथ सुरु गरेको छ ।
बागमती र प्रदेश–२ का मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि र विज्ञसहितको टोलीले प्रदेशको सिँचाई, खानेपानी, जलविद्युत् र पर्सा राष्ट्रिय निकुञ्जमा पानीको आवश्यकता पूर्ति गर्नेे उद्देश्यका साथ प्रदेश–२ सरकारले परियोजनाको काम थालेको हो ।
प्रदेश–२ सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको नीति तथा कार्यक्रममा महत्वाकांक्षी परियोजनाको घोषणा गरी बजेटसमेत छुटयाएको छ । यस परियोजनामा बागमती प्रदेशको हेटौंडामा रहेको राप्ती नदीलाई ड्राइभर्सन गरी बाराको दुधौरा खोलामा पानी ल्याउने सम्भाव्यता अध्ययनबारे दुवै प्रदेशका सरोकारबालाहरुबीच छलफल अगाडी बढेको छ । छलफलमा विज्ञहरुले देशको अन्य क्षेत्रका निर्माणाधीन परियोजनासँगै राप्ती दुधौरा ड्राइभर्सन बहुउद्देश्य परियोजनाको समेत सम्भाव्यता औंल्याएका थिए ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनालले परियोजना सर्भेको विस्तृत अध्ययनपछि तीनै तहका सरकारले परियोजना निर्माणका लागि भूमिका खेल्ने बताए । राप्ती खोलाको मुहान, चुरे पहाड र पानीको बहाव र दुघौरा खोलाको विज्ञसहित सरोकारबालाहरु टोलीले स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययन पछि विज्ञहरुले पानीको अभाव, सिँचाई र अन्य विषयमा प्रदेश–२ प्रत्यक्ष लाभाविन्त हुने सरोकारवालाहरुले बताएका थिए ।
भौतिक पूर्वाधार मन्त्रालयका महाशाखा प्रमुख अरुणलाल कर्णले ढिलो नगरी परियोजनामा विज्ञहरुको टोली खटाई विस्तृत अध्ययन थालिने बताए । उनले सुनकोसी मरिन डाइभर्सनले बाराको केही क्षेत्र लाभान्वित हुने देखिए पनि सबैले लाभ लिन सक्ने बताए । संघीय कानुनअनुसार स्पष्ट तोकिएको कार्यविधिअनुसार परियोजना रहेकाले प्रदेश र संघीय सरकारबीच उपभोगको कानुनी समस्या नरहेको नेपाल बारका बारा अध्यक्ष सन्तोषकुमार गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्