फरार प्रतिवादी समात्न अदालतको विशेष अभियान «

फरार प्रतिवादी समात्न अदालतको विशेष अभियान

हेटौंडा-अदालतबाट कैद तथा जरिवाना तोकिई फरार रहेकाहरुलाई पक्राउ गर्न जिल्ला अदालत मकवानपुरले विशेष अभियान सुरु गर्ने भएको छ । चालू आर्थिक वर्षको ८ महिनालाई फैसला कार्यान्वयनको वर्ष घोषणा गर्दै अदालतले फरार रहेका दोषीलाई खोजी अभियान तीव्र बनाउने निर्णय गरेको हो ।
जेल र जरिवाना तोकी फरार रहेकाहरुको बिवरण जिल्ला अदालतले अब प्रत्येक सरकारी निकायमा पठाउने जिल्ला न्यायाधीश खडानन्द तिवारीले बताए । कैद सजाय भुक्तान गर्न बाँकी रहेकाहरु कुनै पनि सरकारी सेवा लिन कार्यालयमा पुगेमा उसलाई त्यहीँ पक्राउ गर्ने गरी काम सुरु गरिएको उनले बताए ।
“हाम्रो अभियानलाई सबै कार्यालयले सहयोग गर्छन् भन्ने अपेक्षा गरेका छौं । सबैको सहयोग भएमा फैसला कार्यान्वयनको प्रगति धेरै हुने हाम्रो अनुमान छ,” न्यायधीश तिवारीले भने । जिल्ला अदालतको तथ्याङ्कअनुसार जेल तथा जरिवाना तोकिएका २ हजार ४ सय ४१ जना फरार अभियुक्तको सूचीमा रहेका छन् । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म फरार अभियुक्तहरुबाट १२ करोड १७ लाख छ हजार पाँचसय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशव कौशिकले बताए ।
फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रममा न्यायाधीश धु्रव कुमार पिया, जिल्ला बार एशोसियनका अध्यक्ष ईश्वरी अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारु मगर लगायत लगायत सरकारी निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्