सोमबार त्रिभुवन आर्मीसँग काठमाडौं मेयर्स–११ पराजित «

सोमबार त्रिभुवन आर्मीसँग काठमाडौं मेयर्स–११ पराजित

बागमती प्रदेशमाथि रोमाञ्चक जित निकालेको काठमाडौं मेयर्स–११ को टोली राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार त्रिभुवन आर्मीसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर गर्दा पूरा गर्दा काठमाडौं मेयर्स ५ विकेटले पराजित भएको हो ।
जारी प्रतियोगितामा पहिलो जित निकालेको आर्मीलाई जिताउनका लागि सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द म्याच बनेका सोमपालले ५१ बलको सामना गर्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रनको पारि खेले । कप्तान विनोद भण्डारी २० रनमा र राजेश पुलामी ८ रनमा अविजित रहे ।
बलिङतर्फ काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले समान २÷२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा ७४ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाएर पवेलियन फर्किएका थिए । त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रनमा समेटिए । बागमती प्रदेशविरुद्ध रोमाञ्चक जित निकाल्दा विस्फोटक इनिङ खेलेका सन्दिप चल्न सकेनन् । आर्मीका शाहब अलामले सर्वाधिक ४ विकेट निकाल्दा जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १÷१ विकेट आफ्नो नाममा लेखाए ।
२ खेलबाट पहिलो जित निकालेको आर्मीको अंक तालिकामा २ अंक भएको छ । आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले स्तब्ध भएको थियो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो । काठमाडौंको पनि २ खेलमा अंक तालिकामा समान २ अंक नै रहेको छ ।
प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा बागमती प्रदेश र एपिएफ तथा मूलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुनेछ ।

श्री भगवतीसँग २–१ ले पराजित सातदोबाटो युथ क्लब
खुमलटार १० औ खेलमा श्री भगवतीसँग २–१ ले पराजित भएपछि शीर्ष डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ ।
सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक÷एक गोल गरे भने सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए ।
खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएपछि बाँकी रहेको समयमा थप गोल हुन सकेन र मध्यपुरले जित निकाल्न सफल भयो । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–१ गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए । जितसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ । पुल्चोक पुछारमा रहेको छ । आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल श्री भगवती क्लबर र ब्वाइज युनियन तथा दोस्रो खेल टुसाल युथ क्लब र श्री कुमारी क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

पीएम कप भलिबलमा एपीएफ र पुलिस भिड्ने
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमवार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित ग¥यो । पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल कलेजकी निर्देशक रेबती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकालेको हो ।
पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो । तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्