Logo

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोटमा ढिलाइ

लोकसेवा आयोगको सिफारिसमा डा. दामोदर बसौला, श्रीमान् कार्की र रमेशराज पोख्रेल परेका छन् ।

पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालक गर्दै आइरहेको स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोटमा सरकारले ढिलाइ गरेको छ । निर्देशकका लागि एक महिना अघि नै सरकारलाई तीन जनाको नाम सिफारिस गरे पनि हालसम्म निर्णय हुन नसकेको हो ।
कार्यकारी निर्देशक छनोटका लागि स्वास्थ्य मन्त्रालयले भदौ २४ गते आवेदन खुला गरेको थियो । उक्त पदका लागि सात जनाले आवेदन दिए पनि योग्यता नपुगेका दुई जनाको आवेदन रद्द गरी बाँकी पाँच जनालाई लोकसेवा आयोगले परीक्षा लिएको थियो ।
आयोगले कात्तिक पहिलो साता आवेदकको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि तीन जनाको नाम स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो । आयोगको सिफारिसमा डा. दामोदर बसौला, श्रीमान् कार्की र रमेशराज पोख्रेल परेका छन् ।
आयोगले छनोट गरी मन्त्रालयमा पठाएको एक महिना बित्तिसक्दा पनि हालसम्म कार्यकारी निर्देशक चयन हुन सकेको छैन । समितिले गरेको सिफारिसबाट मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्ने व्यवस्था छ ।
आयोगको सिफारिसमा परेका डा. बसौलाले बिमा विषयमा विद्यावारिधि हासिल गरेका छन् भने बिमा अध्यापनका साथै अध्ययन अनुसन्धानमा संलग्न छन् । यसैगरी सिफारिसमा परेका कार्कीले बिमा समितिबाट गत जेठमा अवकाश पाएका हुन् । यस्तै अर्का उम्मेदवार पोखरेल राष्ट्र बैंकबाट अवकाश पाएका हुन् ।
स्वास्थ्य बिमा ऐन २०७४ अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव प्राप्त गरेको र ६५ वर्ष ननाघेको व्यक्ति कार्यकारी हुन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्