विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै «

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै


बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ करोड ९० लाख कारोबार भएकोमा २०७७ पुसमा ३ करोड ८१ लाख वटा कारोबार भएको छ । यसैगरी विद्युतीय प्रणालीमार्फत असारमा २७ खर्ब ६५ अर्ब रुपैयाँ कारोबार भएकोमा पुसमा २९ खर्ब ६९ अर्ब कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई घटाउँदै विद्युतीय माध्यमबाट कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । कोभिड—१९ को महामारीले कारण पनि विद्युतीय कारोबारप्रति सर्वसाधारण उपभोक्तासमेत आकर्षित भएका छन् ।
राष्ट्र बैंकले चेकमार्फत १० लाख रुपैयाँसम्म नगद झिक्न सक्ने व्यवस्था गरेको छ । यसैगरी संस्थागत कारोबार अनिवार्य रूपमा चेकमार्फत नै गर्नुपर्ने व्यवस्था छ । यसबाहेक २ लाखभन्दा बढीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मार्फत गर्नुपर्ने प्रावधान छ ।
यसैगरी पछिल्लो समयमा सर्वसाधारणले स—सानो कारोबारसमेत विद्युतीय माध्यमबाट गर्न थालेका छन् । मोबाइलको रिचार्जदेखि युटिलिटि बिल पेमेन्ट, दैनिक उपभोग्य सामान खरिद, रेस्टुराँमा बिल तिर्न र गाडीभाडा तिर्नसमेत विद्युतीय माध्यम प्रयोग हुन थालेको छ ।
बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विभिन्न वालेट कम्पनीको प्रतिस्पर्धी सेवाका कारण विद्युतीय कारोबारमा सर्वसाधारण उपभोक्ता अभ्यस्त हुंदै गएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान बताउँछन् । “विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति र सर्वसाधारणको आकर्षणका कारण विद्युतीय कारोबार बढ्दै गएको छ,” उनले भने ।
कोभिड संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थालहरूले विद्युतीय कारोबार निःशुल्क गरेको थियो । जसका कारण पनि विद्युतीय कारोबार गर्ने ग्राहकको संख्या ह्वात्तै वृद्धि भएको पाइन्छ ।
राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानीका उपकरणमध्ये सबैभन्दा बढी कारोबार आरटीजीएसमार्फत भएको छ । पुसमा आरटीजीएसमार्फत १६ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । उद्योगी व्यापारीले कर तिर्नका लागि आरटीजीएस प्रणाली प्रयोग गर्ने भएकाले यसमार्फत हुने कारोबार उच्च भएको छ ।
कारोबार संख्याका आधारमा भने सबैभन्दा बढी कारोबार मोबाइल वालेटमार्फत हुने गरेको छ । पुस महिनामा भएको ३ करोड ८१ लाख वटा कारोबारमध्ये एक करोड वटा कारोबार वालेटमार्फत भएको छ । यसैगरी मोबाइल बैंकिङमार्फत पनि ८६ लाख वटा कारोबार भएको छ ।
बालेट र मोबाइल बैंकिङमा सर्वसाधारणको आकर्षण बढेसँगै राष्ट्र बैंकले पनि यसमार्फत कारोबार गर्ने सकिने सीमा वृद्धि गर्दै लगेको छ । राष्ट्र बैंकले गत बुधबारमात्र मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट विल भुक्तानी वा एकाउन्ट ट्रास्न्फरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने गरी सीमा दोब्बर वृद्धि गरेको हो । यसैगरी सोमबार राष्ट्र बैंकले पछिल्लो समय लोकप्रिय भइरहेको क्यूआर कोड भुक्तानी व्यवस्थित गर्नका लागि मापदण्डसमेत जारी गरेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाका अतिरिक्त २९ वटा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले समेत विभिन्न विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्