भारतमा दुई र तीनपांग्रे सवारी निर्यात बढ्यो

भारतमा सवारीसाधनको बजार बार्षिक रूपमा बढ्दै गइरहेको छ । सन् २०१७ को अप्रिल–नोभेम्बरको अवधिमा १९ करोड ४८ लाख ६ हजार ४ सय १२ सवारी उत्पादन भएको छ ।
यसमा प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, तीनपांग्रे तथा दुईपांग्रे सबै समावेश रहेका छन् । २०१६ को अप्रिल–नोभेम्बरको अवधिमा १७ करोड ८१ लाख ८ हजार १ सय ३० वटा सवारी उत्पादन भएको थियो ।
उत्पादनसँगै भारतको आन्तरिक बजारमा प्यासेन्जर सवारीको बिक्री २०१७ को अप्रिल–नोभेम्बरको अवधिमा गत वर्षको तुलनामा ८.४६ प्रतिशतले वृद्धि भएको छ । प्यासेन्जर सवारीमा प्यासेन्जर कार, युटिलिटी भेइकल र भ्यानको बिक्री क्रमशः ४.६९, १९.९५ र ४.६९ प्रतिशत रहेको छ । सोही अवधिमा भारतीय बजारमा कमर्सियल सवारी सेगमेन्टको वृद्धि १०.६० प्रतिशतले भएको छ । त्यस्तै २०१६ को तुलनामा ०१७ मा मध्यम तथा हेवी कमर्सिलय सवारी १.९ प्रतिशत र लाइट कमर्सिलय सवारी १७.०७ प्रतिशतले वृद्धि भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चररले जनाएको छ । भारतको आन्तरिक बजारमा तीनपांग्रे सवारीको बिक्री १.३२ प्रतिशतले बढेको छ । प्यासेन्जर बोक्ने तीनपांग्रेको तुलनामा सामान बोक्ने तीनपांग्रेको वृद्धि राम्रो देखिएको छ । २०१७ को अप्रिल–नोभेम्बरको अवधिमा सामान बोक्ने तीनपांग्रेको बिक्री ५.५१ प्रतिशतले बढेको हो ।
दुईपांग्रे सवारी (मोटरसाइकल तथा स्कुटर)को वृद्धि अप्रिल–नोभेम्बर २०१६ को तुलनामा ०१७ को सोही अवधिमा ९.६१ प्रतिशतले बढेको छ । दुईपांग्रेमा पनि स्कुटरको वृद्धि उत्साहजनक रहेको छ । सो अधिमा स्कुटर १८.१५ प्रतिशत र मोटरसाइकल ७.६२ प्रतिशत रहेको छ ।
भारतबाट निर्यात हुने समग्र अटोमोबाइलको वृद्धि ११.९४ प्रतिशत रहेको छ । दुईपांग्रे र तीनपांग्रेको निर्यात क्रमशः १७.४८ प्रतिशत र २१.२९ प्रतिशत रहेको छ । तर प्यासेन्जर र कमर्सियल सवारीको निर्यात भने ३.६९ र २३.४९ प्रतिशतले गिरावट आएको छ ।