बिमा व्यवसायमा अथाह सम्भावना छ

कोभिड महामारीको असर कम भएपछि आर्थिक गतिविधिसँगै बिमा कम्पनीहरूको व्यवसाय पनि विस्तारै बढ्न थालेको छ । कोभिडले सर्वसाधारणमा बिमाबारेको सचेतना थप फैलाएको र यसै कारण हिजोका दिनमा सरकारले अनिवार्य गरेको दुर्घटना बिमा मात्र गर्ने कर्पोरेट हाउसहरू पनि जोखिम देखेरै जीवन बिमातर्फ आकर्षित हुन थालेको अनुभव सुनाउँछन् ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री । नेपालमा अझै पनि बिमा व्यवसाय विस्तारका लागि ठूलो सम्भावना देख्ने उनी बिमाप्रतिको बुझाइ पनि सकारात्मक बन्दै गएको बताउँछन् । बिमा कम्पनीमा संकलन भएको पुँजीलाई राष्ट्र निर्माणका लागि पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै यसका लागि कम्पनीहरूको भने क्षमता विकास आवश्यक रहेको उनको बुझाइ छ । क्यान्सर, मृगौला फेलजस्ता घातक रोगविरुद्ध ५० लाखसम्म जोखिम बेहोर्ने योजनासहित बजारमा आक्रामक रूपमा व्यवसाय विस्तारमा लागेको कम्पनीले बजारमा छोटो समयमा अलग छवि बनाएको उनको दाबी छ । बेलायतमा सूचना प्रविधिमा स्नातकोत्तर गरेपछि बेलायतबाटै बैंकिङ करियर सुरु गरेका खत्रीले नेपालमा लक्ष्मी बैंकमा कर्मचारी र एनआईसी एसिया तथा नेपाल लाइफको सञ्चालकका रूपमा काम गरेका छन् । एनआईसी एसियाकै प्रवद्र्धनमा खुलेको ज्योति लाइफको डेपुटी सीईओ हुँदै वैशाखयता कम्पनीको सीईओका रूपमा काम गरिरहेका छन् । उनीसँग बिमा क्षेत्रको अवस्था र कम्पनीको योजनामा केन्द्रित रही कारोबारले गरेको कुराकानीको सार :
कोभिडको महामारी कम भएपछि आर्थिक गतिविधि सामान्य बन्दै गइरहेको छ । यो बिमा व्यवसाय कसरी अघि बढ्दै छ ?
कोभिडको असर कम भएपछि विस्तारै आर्थिक गतिविधि बढ्दै गएको छ । यसले गर्दा जीवन बिमा व्यवसाय पनि सामान्य बन्दै गएको छ । तर अझै पनि उद्योगधन्दा तथा व्यापार–व्यवसायमा केही न केही प्रभाव रहेकाले सर्वसाधारणको आम्दानी त असर परेकै छ । जसका कारण व्यवसायमा प्रभाव त पर्ने नै भयो, तर पनि बजारमा जाँदा अहिले इन्स्योरेन्सको कुरै नगरौंं भन्ने अवस्था भने छैन । बिमा कम्पनीहरूका व्यवसायी क्रियाकलापहरू विस्तारै सामान्य अवस्थामा जस्तै हुन थालेका छन् । कोभिडले कम असर परेको क्षेत्रमध्ये जीवन बिमा पनि हो । ज्योति लाइफकै कुरा गर्ने हो भने पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ सय ९४ करोड प्रिमियम संकलन गर्न सफल भएका छौं, जुन गत आवको तुलनामा ९४ प्रतिशत बढी हो ।
महामारी÷प्राकृतिक प्रकोपपछि बिमाप्रति जनचेतना बढ्छ भनिन्छ । कोभिडपछिको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपाली समाजमा बिमाप्रति सचेतना वृद्धि भइरहेको छ । जसका कारण विभिन्न संघसंस्थासँग सम्बन्ध पनि बढिरहेको छ । हिजोका दिनमा सरकारले अनिवार्य गरेको दुर्घटना बिमा मात्र गर्ने कर्पोरेट हाउसहरूले पनि जोखिम देखेपछि जीवन बिमा गर्नुपर्ने रै’छ भने सचेतना आएको पाएका छौं ।
सर्वसाधारणमा बिमा भन्नेबित्तिकै निश्चित अवधिपछि दोब्बर भुक्तानी भन्ने बुझाइ देखिन्छ ?
नेपाली समाजमा कम पैसाले जोखिम वहन हुने टर्म इन्स्योरेन्स प्रोडक्टभन्दा प्रतिफल दिने योजनामा हाम्रो रुचि बढी देखिएको छ । यसले गर्दा बिमालाई अनिवार्य बचत पनि हुने र भविष्यका लागि लगानीका रूपमा पनि लिने गरेको पाइन्छ, जसका कारण १५ वर्षभन्दा बढीमा दोब्बर आउँछ भन्ने बुझाइ बन्यो । बिमा त जोखिम वहनका लागि हो, त्यसपछि मात्र लगानीका लागि हो । नेपालीहरूमा मेरो क्षति हुँदा आश्रितहरूका लागि बिमा गर्नुपर्छ भनेर नगर्ने, यति वर्षपछि मैले के पाउँछु भन्ने ढंगले बिमा गर्ने देखिएको छ । आजको दिनमा यो बुझाइ विस्तारै परिवर्तन हुँदैछ । नयाँ कम्पनीहरू आएपछि नयाँ–नयाँ योजना पनि आएका छन् । बुझाइमा पनि परिवर्तनमा आउँदैन ।
आजको दिनमा हामी सबैभन्दा बढी घातक रोगविरुद्ध सुरक्षा दिन कम्पनीका रूपमा परिचित छौं । त्यसैले सर्वसाधारणमा बोनसभन्दा पनि कुन–कुन रोगविरुद्ध सुरक्षा पाउँछु भन्ने चासो छ । अरू कम्पनीहरूले जोखिम कभरेज बढी तर त्यसको प्रतिफल कम आउने बिमालेख पनि सार्वजनिक गरिरहेका छन् । त्यो पनि परिवर्तन भइरहेको छ, जसबाट सर्वसाधारणको बुझाइ विस्तारै परिवर्तन भइरहेको छ । सर्वसाधारणलाई कति फिर्ता पाउँछु भन्दा पनि मलाई कुन–कुन घातक रोग लाग्यो, दुर्घटनामा हुने अंगभंग र अकालमा मृत्युमा कस्तो जोखिम कभर हुन्छ भन्नेतिर पनि चासो बढ्न थालेको छ ।
बिमकहरूकै मागअनुसार बिमा समितिले २ वर्षअघि लगानी निर्देशिका परिवर्तन ग-यो । तर, निर्देशिकाअनुसार पूर्वाधार क्षेत्रमा लगानी न्यून हुनुको कारण के हो ?
लगानी निर्देशिका–२०७३ मा कुल लगानीका आधारमा लगानीको गणना गथ्र्यौं । २०७५ सालमा आएको निर्देशिकामा कम्पनीको टेक्निकल रिजर्भका आधारमा लगानी गणना गर्ने व्यवस्था भयो । हामीजस्तो नयाँ कम्पनीको तेस्रो वर्षसम्मको मूल्यांकन गर्दा टेक्निकल रिजर्भ ७२ करोड मात्र छ, जसअनुसार हामीले कृषि, जलस्रोत, पर्यटनजस्ता पूर्वाधार क्षेत्रमा लगानी गर्न पाउने सीमा भनेको १४ करोड मात्र हो । यो विस्तारै बढ्दै जान्छ र अर्बमा पुग्छ । त्यसबेला ठूलो नम्बरमा लगानी गर्न सक्छौं । १९ जीवन कम्पनीले राम्रो व्यवसाय गरिरहेका छन् । कोभिडका कारण बिमाको वृद्धिदरमा केही कमी आयो होला त र वृद्धि नै नभएको त होइन । बिमा कम्पनीमा पैसा थुप्रिएको छ, तर यसबाट देश विकासमा के योगदान भयो भन्दा दिनुभयो भन्दा त खासै छैन । हामीले बिमा ग¥यौं, जोखिम वहन ग¥यौं, दाबी भुक्तानी पनि ग¥यौं, यो आफ्नो ठाउँमा छ, तर हाम्रो कोषबाट के ग¥यौं भन्दा देखाउन लायक खासै छैन । त्यसैले समितिले पूर्वाधार क्षेत्रमा लगानी अनिवार्य गरेको हो । यो निर्देशिका दीर्घकालीन सोच राखेर निर्माण गरिएकाले कम्पनीका लागि पनि राम्रो हो ।
नेपालमा कृषि व्यावसायिक रूपमा अघि आउन सकेको छैन । ठूलो स्केलमा कृषि अघि बढ्न नसक्नुको कारण पुँजी अभाव हो । विभिन्न बिजनेस ग्रुप पनि कृषिमा जाँदै छन् । जीवन बिमा कम्पनीसँग रहेको रकम अब कृषिमा किन लगानी नगर्ने त ? बरु कृषिलगायतका पूर्वाधार क्षेत्रमा कसरी गर्ने भन्नेमा अलिकति तयारी गर्नुपर्छ । अहिलेसम्म हामीसँग बैंक, सेयरजस्ता उपकरणमा लगानी गर्ने क्षमता मात्रै छ । हामीले पूर्वाधार क्षेत्रमा लगानीका लागि जोखिम औंल्याएर यसलाई व्यवस्थापन गर्ने क्षमता पनि विकास गर्न आवश्यक छ ।
पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्नु भनेर समितिले निर्देशन दिएको छ । यसका लागि कस्तो तयारी गरिरहनुभएको छ ?
लगानी निर्देशिकामा कुनै पनि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने भन्दा पनि यतिसम्म गर्न पाइने भन्ने प्रावधान थियो । यसलाई अहिले अनिवार्य रूपमा कार्यान्वयन गर्नैपर्छ भन्ने ढंगले निर्देशन आएको छ । यसका लागि कम्पनीहरूलाई एक किसिमको तयारी आवश्यक छ । हाम्रो क्षमता र दक्षता विकास गर्न जरुरी छ । त्यसका लागि कम्पनीमै क्षमता बढाउने वा बाहिरबाट विज्ञता ल्याउने भन्ने हो ।
पूर्वाधार क्षेत्रमा लगानी गर्न कसरी अघि बढ्ने भन्ने विषयमा जीवन बिमा संघमा अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन । तर, सीईओहरूबीच भने अनौपचारिक रूपमा छलफल गरेका छौं । कुनै पनि काम गर्नका लागि सुरुमा गा¥हो लाग्छ, तर गर्न नसकिने भन्ने छैन ।
ऋणभन्दा इक्युटी सेयरमा लगानी जोखिमपूर्ण मानिन्छ । बिमा कम्पनीले लगानी गर्दा बढी जोखिम लिनु हुँदैन भन्ने मान्यता छ नि ?
ऋण लगानी गर्दा जोखिम मूल्यांकन गरेर लगानी गर्ने हो । यसको प्रतिफल निश्चित हुन्छ । तर, इक्युटी सेयर लगानी गर्दा कम्पनीको ब्राडिङमा पनि प्रभाव पर्छ । फलानो–फलानो प्रोजेक्टमा हाम्रो लगानी छ भन्दा त्यसले सर्वसाधारणमा ठूलो प्रभाव पार्छ । नेपालमा इन्स्योरेन्सका लागि मात्र बन्ड छैन । यसका लागि बिमा समितिमार्फत अर्थ मन्त्रालयमा पनि प्रस्ताव पुगेको छ ।
पूर्वाधार विकास बैंकले बिमाको पुँजीलाई पनि राम्रो स्रोतका रूपमा लिएको छ । बैंकले जारी गर्ने बन्डमा तपाईंहरूको कत्तिको रुचि रहन्छ ?
बैंकले कुनै निश्चित क्षेत्रका लागि बन्ड जारी गर्दा त्यसमा बिमा क्षेत्रले लगानी गर्छ । मुख्य कुरा, त्यसबाट कति प्रतिफल प्राप्त हुन्छ भन्ने हो । अर्को पूर्वाधार विकासको बन्डमा लगानी गर्दा त्यसको गणना पूर्वाधार क्षेत्रको लगानीमा हुन्छ या बन्डको लगानीका रूपमा हुन्छ त्यसले पनि फरक पार्छ ।
बिमा कम्पनीहरू मिलेर सहायक कम्पनी बनाएर पूर्वाधार आयोजना बनाउने सम्भावना छ कि छैन ?
यसका लागि कुनै पनि आयोजना बनाउनका लागि दक्षता र पुँजी आवश्यक हुन्छ । बिमा कम्पनीसँग पुँजी भए पनि कुनै विशेष आयोजना सञ्चालन गर्ने दक्षता छैन । त्यसका लागि बिमा कम्पनीहरू मिलेर काम गर्न सक्छौं । अहिले जीवन बिमाको मात्र छुट्टै संघ छ । त्यसमा बसेर छलफल गर्न सक्ने वातावरण छ । हालै आचारसंहिता बनाएर लागू पनि गरेका छौं । बिमा कम्पनीहरू प्रतिस्पर्धी भए पनि एक अर्काका परिपूरक हुन् । मिलेर गर्ने वातावरण छ ।
साक्षरता कमीले सर्वसाधारणमा बिमाप्रति अझै नकारात्मक धारणा छ । यसलाई हटाउन के गर्नुपर्छ ?
बिमा साक्षरता बढाउनका लागि बजारमा काम गरिरहेका कम्पनी, नियामक निकाय, सरकार सबैको भूमिका हुनुपर्छ । अहिले बिमाको पहुँच २५ प्रतिशतको हाराहारीमा छ । यो वर्ष ४० प्रतिशत पु¥याउने सरकारको योजनामा छ, तर कुनै रणनीति नै छैन । हामी कम्पनीहरूले आफ्नो तर्फबाट केही न केही प्रयास गरिरहेका छौं । तर, बिमितलाई र कम्पनीहरूलाई के–कस्ता सुविधा दिएर आकर्षित गर्ने भन्ने योजना सरकारसँग छैन । कुनै बेला बिमा प्रिमियम दिर्ता आयकरमा छुट २० हजार रुपैयाँ छुट थियो । त्यसलाई बढाएर २५ हजार रुपैयाँ पु-याइयो । अहिले औसत बिमांक नै ६÷७ लाख पुगेको अवस्थामा प्रिमियम ३५-४० हजार तिर्छ । करमा दिएको सहुलियत समय सान्दर्भिक भएन । यसलाई पुनरावलोकन गर्नुपर्छ । अहिलेको अवस्थामा इन्स्योरेन्स राज्यको मुख्य प्राथमिकतामा हुुनुपथ्र्यो । तर सरकारले बैंकिङ जति पनि प्राथमिकता दिएको छैन ।
नयाँ कम्पनीहरू थपिएसँगै गाउँगाउँसम्म शाखा पुगेका छन् । त्यसअनुसार व्यवसाय विस्तार भएको छ त ?
बिमा कम्पनीहरूले शाखा खोलेका सबै ठाउँमा व्यवसाय विस्तार भएको नै पाएका छौं । कहीं बढी, कहीं कम प्रिमियम संकलन भएको होला । तर, समग्र रूपमा हेर्दा प्रिमियम र बिमांक रकम पनि बढिरहेको अवस्था छ ।
जीवन बिमा व्यवसायमा ज्योति लाइफको अवस्था कहाँ पाउनुहुन्छ ?
सुुरुदेखि नै नयाँ सोचका साथ बजारमा प्रस्तुत गर्ने प्रयासमा छौं । नेपालमा जीवन बिमा भन्नेबित्तिकै मर्नुपर्ने, अंगभंग हुनुपर्ने भन्ने मानसिकताबाट बाहिर निस्केर घातक रोगविरुद्धको सुरक्षा दिने पहिलो कम्पनी हुन सफल भयौं । आजको दिनमा ३५ वटा रोगको ५० लाखबराबरको सुरक्षा प्रदान गर्छौं । जतिवटा कम्पनी आए पनि उही हो भन्ने सोचबाट बाहिर निस्केर जीवन बिमा व्यवसायमा नयाँ–नयाँ प्रोडक्ट ल्याउन सफल भएका छौं । प्रोडेक्ट कपि पेस्ट र रेटमात्र फरक गर्नेभन्दा पनि बिमितलाई अलिकति फाइदा हुने योजना ल्याएका छौं ।
कम्पनीको विस्तार पनि आक्रामक रूपमा गरेका छौं । चौथो वर्षमा प्रवेश गर्दा १ सय १८ शाखाबाट सेवा दिएका छौं । त्यो हाम्रो सफलता हो । बिमितले पाउने बोनस दरमा पनि हामी प्रतिस्पर्धी छौं । नयाँ कम्पनी भए पनि केही पुराना कम्पनीहरूभन्दा पनि राम्रो बोनस दिन सफल भएका छौं । नयाँ कम्पनी, नयाँ सोचका साथ अगाडि बढिरहका छौं ।
कम्पनीले साधारण सेयरका लागि आवेदन आह्वान गरेको छ । यसमा सर्वसाधारणले किन लगानी गर्ने ?
लगानी गर्नुअघि कम्पनी र सम्बन्धित उद्योगलाई हेर्नुपर्छ । केही व्यक्तिहरूले जीवन बिमालाई नाफामा जान पाँच वर्ष लाग्छ भन्थे । तर, हामी १ सय १८ शाखा र ३ सय ५० कर्मचारीलाई व्यवस्थापन गरेर राम्रो नाफा गर्न सफल भएका छौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १० करोड ७८ लाख नाफा गर्न सफल भएको छ ।
अर्कातिर बिमा उद्योग पनि बढिरहेको छ । हामीले खुम्चेर काम गर्नुपर्ने अवस्था छैन । हिजो ६ प्रतिशत रहेको बिमाको पहुँच २२–२३ प्रतिशत पुगेको छ । इन्स्योरेन्सप्रति सर्वसाधारणको विश्वास र चेतना बढेको छ । कम्पनीका रूपमा र उद्योगका रुपमा पनि बिमा व्यवसायमा अथाह सम्भावना छ । त्यसैले कुनै पनि लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ ।
१९ वटा कम्पनीहरूले आ–आफ्नो ढंगले व्यवसाय विस्तार गरिरहेका छन् । बिमा समितिको नीति निर्देशिका भनेको दीर्घकालीन र दिगो किसिमको छ । व्यवसाय विस्तार कुनै कम्पनीको बढी, कुनैको कम होला तर कम्पनी चल्न नसक्ने, धराशायी हुने अवस्थामा छैनौं । एकातिर बिमा उद्योगको पनि विकास भइरहेको र अर्कातर्फ बिमा कम्पनीहरूले पनि राम्रोसँग व्यवसाय विस्तार गरिरहेकाले सर्वसाधारण लगानीकर्ताहरूले बिमा कम्पनीमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्छन् ।
साधारण सेयरबाट संकलन हुने पुँजीलाई कम्पनीले कसरी परिचालन गर्छ त ?
साधारण सेयरमार्फत संकलन हुने पुँजी केही कम्पनीको शाखा विस्तारमा लगानी गर्छाैं । यसैगरी केही रकम कम्पनीका लागि भौतिक पूर्वाधारका विकासमा पनि खर्च गर्ने सोचिरहेका छौं । यसैगरी बाँकी पुँजी लगानी निर्देशिकाअनुसार सुरक्षित तरिकाले इन्भेस्टमेन्टको दायरा बढाउने गरी लगानी गर्छौं ।
लगानीकर्ताहरू छिटो प्रतिफल खोज्छन् ? के भन्नुहुन्छ ।
हामी नयाँ कम्पनी भए पनि नयाँ–नयाँ प्रोडक्टमार्फत बजारमा स्थापित हुन सफल भएका छौं । राम्रो बोनसदर प्रदान गरेर बिमितको अपेक्षा पूरा गरेका छौं । कम्पनीका कर्मचारीलाई व्यावसायिक काम गर्ने वातावरण प्रदान गरेका छौं । अभिकर्तालाई पनि व्यावसायिक रूपमा काम गर्न सक्ने अवस्था सिर्जना गरेका छौं । अब कम्पनीका संस्थापक र साधारण सेयरधनीलाई सम्बोधन गर्ने पालो हो । अहिल्यै यति उति भन्न मिल्दैन, तर कम्पनीले राम्रो प्रतिफल दिने क्षमता बनाएको छ । लगानीकर्ताले वित्तीय सूचकबाट पनि यसको विश्लेषण गर्न सक्नुहुन्छ ।