७० वर्षको उमेरमा सुन्तला खेती

स्याङ्जाको भिरकोट नगरपालिका–५ अर्चलेका ७० वर्षीय रुद्रबहादुर मल्लले यस वर्ष सुन्तला खेतीबाट २ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् । मल्लले साँढे २ दशकदेखि सुन्तला खेती गर्दै आएका छन् ।
“शुरुका दिनमा घर वरिपरि मात्रै सुन्तलाका रुख देखिन्थे, आजभोलि सबै बारीमा सुन्तलाको बगैंचा बनेको छ,” मल्लले भने, “काम गर्न उमेरले छेक्दो रहेनछ, उपलब्धीमूलक बनाउन कामप्रतिको निरन्तरता भने आवश्यक छ ।” राजनीतिक क्षेत्रमा पनि सक्रिय मल्ल स्थानीय तहको चुनावमा वडाअध्यक्षका प्रत्यासी थिए ।
स्वरेक कालिका सुन्तला तथा फलफूल समूहका अध्यक्ष समेत रहेका मल्लले किसानलाई सुन्तला तथा फलपूmल खेतीमा प्रेरित गर्दै आएका छन् । सुन्तला खेतीका लागि उत्तरपूर्व फर्किएको जमिन उपयुक्त हुने उनले सुझाए । स्याङ्जाका अधिकांश भूभाग उत्तरपूर्व फर्किएकाले सुन्तला खेतीका लागि उपयुक्त रहेको मल्लले दाबी गरे ।
मल्लकै सुझावमा थापागाउँका भीमबहादुर थापाले बाँझो बारीमा सुन्तला लगाएका छन् । उनले पनि सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्ने चाहना राखेका छन् । थापाले लगाएको सुन्तलाले आगामी वर्षदेखि उत्पादन दिन शुरु छ । “कृषितर्फ त्यति चासो नभए पनि मल्लसँगको संगतबाटै घर वरपर बाँझै रहेको बारीमा अहिले हरियाली छाएको छ,” उनले भने, “अरु किसानलाई सुन्तला खेती गर्न सल्लाह दिने गरेको छु ।”
स्याङ्जामा करिब २ दर्जन किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । बोधराज अर्याल, हिमालयजंग केसी, फणिनारायण अर्याल, मुक्ति अधिकारीलगायतले सुन्तला बिक्रीबाट एकै सिजनमा लाखौं रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।
यस वर्ष सुन्तलाको फूल खेल्ने समयमा असिना परेका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु वर्ष ३० देखि ३५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ । स्याङ्जामा उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं, भैरहवालगायतका शहरमा बिक्री हुँदै आएको छ ।