राजनीतिक निकास दिने दायित्व सत्तारुढ दलकै «

राजनीतिक निकास दिने दायित्व सत्तारुढ दलकै

पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहपछि धमिलो बनेको नेपालको राजनीतिले कुन दिशा तय गर्ला भन्ने जिज्ञासा सबैमा उत्पन्न भएको छ । अहिलेको तरलतालाई निकास दिने दायित्व सत्तारूढ दलको नै हो । उसको आन्तरिक कलहले प्रतिनिधिसभा भंग र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिसक्दा पनि ऊ अझै कानुनी रूपमा नफुटिसकेकाले मुलुकको भावी राजनीतिक दिशा अझै कसरी अघि बढ्ला भन्नेमा असजिलो देखिएको छ । निर्वाचन आयोगले आज आइतबार नै नेकपा विवादको फैसला गर्ने, सर्वोच्चमा ऋषि कट्टेलले नेकपामा परेको उजुरीको पनि आजै फैसला आउने बताइएको छ । यसले पनि नेकपाको पार्टीगत विवादलाई किनारा लगाउन एक किसिमले सहज बनाउनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृृत्वको सरकार धर्मराउने निश्चितप्रायः छ । किनकि नेकपा नेता पुष्पकमल दाहालले नेतृत्व गरेको समूहका बहुमत सदस्यले शुक्रबार उनलाई संसदीय दलको नेता चयन गरिसकेको छ । तर रात रहे अग्राख पलाउँछ भनेझैं आपसी दन्तबझानमा रहेको नेकपाको पुनर्मिलन नहोला भन्न पनि सकिन्न । प्रतिपक्ष दल नेपाली कांग्रेसले भावी सरकारको नेतृत्व गर्ने भन्ने अनेक हल्लालाई सभापति शेरबहादुर देउवाले शनिबार स्पष्ट पारेका छन् । उनले नेकपा कानुनी रूपमा फुट नभइसकेको अहिलेको अवस्थामा नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्ने प्रतिक्रिया दिएका छन् । यसै सन्दर्भमा जिल्लास्थित कारोबारकर्मीहरूले प्रतिनिधिसभाका सांसदहरूसँग गरेको कुराकानीको सारः

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन्छ
मेटमणि चौधरी
प्रतिनिधिसभा सदस्य, नेकपा (नेकपा), दाङ

सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेपछि पुनःस्थापना भएको संसद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद् अदालतले पुनःस्थापना गरेको हो । आज (फागुन २३ गते) ४ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद्को बैठक सुरु भएपछि बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास छैन भनी अविश्वासको प्रस्ताव दर्ता हुनेछ । ओली असफल भइसकेकाले उनलाई नेतृत्वबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेर अगाडि बढिनेछ । त्यो संसद् बैठक सञ्चालन भएपछि देखिनेछ । अविश्वासको प्रस्ताव पेस भएपछि प्रधानमन्त्री ओलीलाई हटाइनेछ । ओलीलाई हटाएपछि संसद्बाट नयाँ सरकार बनाइनेछ । अन्य पार्टीसँग मिलेर सरकार निर्माण हुनेछ । नयाँ सरकार बनेपछि देशले सफल नेतृत्व पाउनेछ, जसले गर्दा देशको विकासमा अगाडि बढाउन सहयोग मिल्नेछ भने संसद्मा प्रक्रियामा रहेका विधेयकहरू छलफलमा आउनेछन् । संसद्मा पेस भएका विधेयकहरू छलफलमार्फत पारित भएपछि कानुन निर्माण हुनेछन् । बनेका कानुनहरू कार्यान्वयनमा आउनेछन् । यसरी यस प्रक्रियामा अगाडि बढेपछि देश सामान्य अवस्थामा अगाडि बढ्नेछ । नागरिकको आवश्यकताअनुसार विकासका कार्यले समेत गति लिनेछन् ।
प्रस्तुति ः अमरराज आचार्य

फेरि प्रतिनिधिसभा विघटन हुनसक्छ
भैरवबहादुर सिंह
प्रतिनिधिसभा सदस्य, नेकपा (नेकपा), बझाङ

पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धति बसाउन खोजिएको छ । बहुमत र अल्पमतले गर्दा नै नेकपा दुर्घटना हुने अवस्थामा पुगेको छ । नेकपाका एकथरी नेताहरू अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । तर, आइतबार हुने संसद् बैठकमा यो प्रस्ताव आउनेमा म विश्वस्त छैन । आइहालेमा पनि सहजै पारित हुँदैन । पार्टीभित्रै युवा नेताहरूले अझै पनि पार्टी एकीकरणको विषयलाई जोड दिँदै आएका छन् । संसद् विघटन बाध्यात्मक अवस्थामा भएको हो । नेकपाका केही नेताहरू पदलोभी हुँदा यो अवस्था आएको हो । कमरेडहरूले पार्टीभित्रै गुट चलाउन खोज्नुभयो । पार्टीको स्थायी कमिटी बैठकमा एजेन्डामाथि छलफल नगर्ने, जहिले पनि प्रधानमन्त्री ओलीले एक पदबाट राजीनामा दिनुपर्छ अनि मात्र बैठक अघि बढ्छ भन्ने । पार्टीको एकल अध्यक्ष हुन महाधिवेशन गरौँ भन्दा पनि नमान्ने । प्रधानमन्त्रीबाट राजीनामा त दिन्छु तर प्रधानमन्त्रीको उम्मेदवार को हुने हो, टुङ्गो लगाएर राजीनामा दिन्छु भन्दा पनि नमान्ने । यसो गरौं भन्दा पनि नमान्ने, उसो गरौं भन्दा पनि नमान्ने, एकोहोरो ढिपीमात्र गर्ने स्थिति आएपछि प्रतिनिधिसभा विघटन भयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई पनि प्रधानमन्त्रीज्यूले सम्मान गर्नुभएको छ । संसद् पुनःस्थापना भइसकेपछि अदालतको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ । अब प्रधानमन्त्रीसँग दुईवटा विकल्प छन् । एउटा पार्टीभित्र देखिएको विवाद समाधानका लागि अझै एकताको पक्षमा लाग्ने । अर्को, अविश्वासको प्रस्तावको सामना गर्ने । संसद् बैठकमा उहाँले फेस गर्नुहुनेछ र गर्नुपर्छ । कसैले राजीनामा दे भन्दैमा उहाँले राजीनामा दिनुपर्ने अवस्था छैन । अबको निकास संसद्बाटै हुन्छ । प्रधानमन्त्री फेर्ने हो भने पनि संसदीय दल फेस गर्नुपर्ने हुन्छ । बहुमत सदस्यले आफ्नो विचार राख्न सक्छन् । प्रधानमन्त्रीको पदबाट हटाउन पार्टीको निर्णयले मात्र सम्भव छैन । संवैधानिक विधि भनेको संसदीय प्रक्रिया हो । संसदीय प्रक्रियाबाट मात्र त्यो सम्भव छ । दुवै थरीले आफ्ना संसद् बढी रहेको दाबी गरेका छन् । तर, अझै अविश्वासको प्रस्ताव पारित हुने अवस्था छैन । बाहिरी आकलन गरिएजस्तो अन्य दलसँग मिलेर सरकार बनाउने अवस्था पनि छैन । यसो गर्दा अझै प्रतिनिधिसभा विघटन हुनसक्छ ।
प्रस्तुति : मकरराज धामी

कांग्रेस पर्ख र हेरको अवस्थामा छ
सञ्जय गौतम
प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस, बर्दिया

नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण सिर्जित वर्तमान अवस्थामा अहिले नेपाली कांग्रेसले तत्काल कुनै पनि निर्णय गरेको छैन । हामी अभैm पनि पर्ख र हेरको अवस्थामा छौं । नेपाल कम्युनिस्ट पार्टीभित्र के–कस्ता राजनीतिक घटनाक्रमहरू विकसित हुन्छन्, त्यसले आगामी राजनीतिक यात्रा निर्धारण गर्ने भएको हुँदा जुन किसिमको नेपाली कांग्रेसको निर्णायक भूमिका छ त्यो भूमिका प्रभावकारी रूपमा हामी निर्वाह गर्छौं । हामी नेपाली कांग्रेसको नेतृत्वमा भोलि सरकारमा जान सक्छौं । तर, त्योभन्दा पहिला केपी ओलीको बहिर्गमनपछि के हुने ? त्यो राजनीतिक मूलभूत कुरा हो । यसमा नेपाल कम्युनिस्ट पार्टीभित्रको निर्णय हेरेर हामीले समयमै उपयुक्त निर्णय लिने कोसिस गर्छौं । वर्तमान राजनीतिक घटनाक्रमका आधारमा नेपाली कांग्रेस सरकारमा जाने सम्भावना धेरै छ । त्यसमा कांग्रेसभित्रको आन्तरिक समस्या आफ्नो ठाउँमा होला, तर यस्तो अवस्थामा कांग्रेसभित्र दुई थरी विचार आउनु स्वाभाविक नै हो । जे भए पनि हामी सरकारमा जाने सम्भावना भने प्रबल छ । आज हुने संसद् बैठकमा नेपाली कांग्रेसका एजेन्डाहरू हामी संसद्मा निरन्तर रूपमा उठाउँछौं । यो सदन सुचारु भएर जाओस्, हाम्रा एजेन्डाहरू संसद् बैठकमा हामी जोडदार रूपमा उठाइरहनेछौं । साथै अब चाँडोभन्दा चाँडो नयाँ नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो उद्देश्य हो । अहिलेको परिस्थितिमा हामीसँग वैचारिक रूपले हाम्रो एजेन्डा मिलेको पार्टीसँग हामी नजिक हुन्छौं । हामीले सरकार बनाउँदै गर्दा हामीलाई कसले सहयोग गर्छ उसैसँग हाम्रो सहकार्य हुन सक्छ ।
प्रस्तुति : लक्ष्मण ढुंगाना

नागरिकले सरकार नभएको महसुस गरेका छन्
पुष्पा भुसाल
सचेतक, नेपाली कांग्रेस संसदीय दल

संविधान कार्यान्वयनका पक्षमा सरकार गम्भीर हुनुपर्नेमा गम्भीर भएको देखिएन । हामीले जारी गरेको संविधान कार्यान्वयनका लागि नेकपा सरकार गम्भीर नभएका कारण संसद्मा कांग्रेस गम्भीर भएर प्रभावकारी भूमिका खेल्नेछ । आजबाट संसद् अधिवेशन सुरु हुँदैछ, संसद्मा कांग्रेसको भूमिका महत्वपूर्ण मानिन्छ । नेकपा सरकारले संसद् विघटन गरेको कुरा कांग्रेसले आन्दोलनमा असंवैधानिक कदम पुष्टि गरिसकेको थियो । संसद्लाई स्थायित्व दिँदै, संसद् सुचारुको सम्बन्धमा कांग्रेस सधै सकारात्मक छ, कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका प्रतिपक्षकै हुन्छ । संसदीय अभ्यासमार्फत हरेक समस्याको समाधान हुने भएकाले संसद्लाई स्थायित्व दिने कुरामा लागिरहन्छौं । राष्ट्रिय राजनीतिको सन्दर्भमा नेपाली नागरिकले सरकार नभएको महसुस गरेका छन् । दैनिक हरेक क्षेत्रमा मूल्यवृद्धि भइरहेको छ । सरकार नागरिकप्रति जिम्मेवार छैन । सरकारको नेतृत्व गरेको नेकपा नै भ्रष्टाचारीको संरक्षणमा रहकाले दैनिक भ्रष्टाचार मौलाएको देखियो । संसद् सुचारु पश्चात कांग्रेसले संसद्मा खेल्ने भूमिका प्रभावकारी हुन्छ । कांग्रेसले सरकारमा जाने नजाने सन्दर्भमा संसदीय दल तथा कांग्रेसले आधिकारिक निर्णय नगर्दासम्मका हल्ला अफवाह हुन् । कांग्रेस तत्काल पर्ख र हेरको बाटोमा छ । आजबाट सुचारु हुने संसद्मा कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ ।
प्रस्तुतिः घनश्याम पौडेल

प्रतिक्रिया दिनुहोस्