मेक इन नेपाल स्वदेशी–अभियान सफल पार्न राष्ट्रपतिको शुभकामना «

मेक इन नेपाल स्वदेशी–अभियान सफल पार्न राष्ट्रपतिको शुभकामना


नेपाल उद्योग परिसंघले व्यापकरुपमा अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताका लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने बताइन ।
उनले निजी क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनुपर्ने बताइन् । राष्ट्रपतिबाट सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नका लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडि बढिरहेको धारणा राखिन् ।
राष्ट्रपतिले कतिपय उत्पादनहरु देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने सुझाव दिइन् ।
नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु-याउनु पर्ने बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने बताए । अभियानले मुलुकको औद्योगिक बिस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु-याउने अध्यक्ष मोरको धारणा थियो ।
छलफलमा परिसंघको तर्फबाट परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडि सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनु पर्ने बताए ।
परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु-याउने बताए । उनले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतका विषयमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्