मुलुकमा लगानीको वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल «

मुलुकमा लगानीको वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल

काभ्रे-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।
शनिबार काभ्रे उद्योग वाणिज्य संघको४१औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अंकमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकाले मुलुकमा लगानीका लागि उपयुक्त वातारण तयार भएको बताए । बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनु पर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गाली गरेर बस्ने अवस्था नरहेको बताए ।
“अहिले बैंकको व्याजदर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेडदर पनि केन्द्रीय बैंकले तोकेको दर भन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनुपर्ने बेला आएको छ” उनले भने ।
मुलुकभित्र लगानीमैत्री वातावरण थप सुधार गर्दै जानका लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने बताए । उनले निर्वाचनपछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिएपनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ” उनले भने । उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्