महाशिवरात्रिको आडमा अत्यधिक मादक पदार्थ सेवन नगरौं «

महाशिवरात्रिको आडमा अत्यधिक मादक पदार्थ सेवन नगरौं

नेपालमा मनाइने महत्वपूर्ण चाडपर्वहरूमध्ये एक हो— महाशिवरात्रि । नेपालमा यस वर्ष महाशिवरात्रि फागुन २७ गते बिहीबार परेको छ । त्यस दिन हाम्रो देशमा सार्वजनिक बिदा दिने गरिन्छ । उक्त दिनमा शिव शक्तिको महिमाका बारेमा कथनहरू सुन्ने, भजनकीर्तनहरू गर्ने गरिन्छ । मन्दिरहरूमा ‘महामृत्युञ्जय’को पाठ र ‘ओम नमः शिवाय’को जप गरेर प्रार्थना गर्ने पनि गरिन्छ । उक्त दिन शिवजीले ताण्डव नृत्य गर्नुहुन्थ्यो भन्ने कुरा कथनहरूमा सुन्ने गरिएको छ । त्यस दिन प्रत्येक शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ । अधिकांश भक्तजनहरू त्यस दिन व्रत बस्ने, स्नान गरी भगवान्को दर्शन गरेर शुद्ध र चोखो खाना खाने गर्छन् ।
महाशिवरात्रिका दिन मन्दिरमा साधुबाबाहरू शरीरमा खरानी घसेर प्रभुको जप गरेर बसिरहेका हुन्छन् भने कतिपय बाबाहरू वस्त्रविहीन खरानी घसेर बसिरहेका हुन्छन् । भारतबाट उक्त दिनका लागि भनेर नागाबाबाहरू झिकाइएको हुन्छ । त्यस दिन विशेष रूपमा पशुपतिनाथ मन्दिरमा अत्यधिक मात्रामा दर्शनार्थीहरूको भीड लाग्ने गर्छ । भक्तजनहरूलाई सजिलो होस् भन्ने हेतुले पशुपतिनाथ विकास समितिद्वारा ठाउँठाउँमा पानी, प्रसादस्वरूप खानेकुराहरूको व्यवस्था गरिएको हुन्छ भने मन्दिरको भीड व्यवस्थापनका लागि भनेर स्काउट र सेना पनि परिचालन गरिएको हुन्छ । त्यस दिन रातभरि धुनी बालेर जागाराम बस्ने प्रचलन पनि रहेको छ ।
कतिपय भक्तजनहरू उक्त दिन पशुपतिनाथ मन्दिरमा गएर शिवजीको प्रसाद भन्दै बाबाहरूसँग बसेर भाङ, धतुरो र गाँजा पनि सेवन गर्ने गर्छन् । ‘के खोज्छस् कानो, आँखो’ भनेभैंm अधिकांश मानिसहरू शिवरात्रिको आडमा बाबाजीको प्रसाद भन्दै अत्यधिक मात्रामा जाँड, रक्सी, गाँजा, भाङ, धतुरो तथा अन्य मादक पद्धार्थको सेवन गरेर बाटो तथा अन्य सार्वजनिक स्थानहरूमा अन्यन्त्र हिँडिरहेका हुन्छन् । कतिपय मानिसहरू बाटोमै खाएर ध्रुत भएर लडिरहेका हुन्छन् । अचेत अवस्थामा जथाभाबी बोलिरहेका हुन्छन्, झैझगडा गरिरहेका हुन्छन् । उनीहरूको यस्तो प्रवृत्तिका कारण उनीहरूको परिवार, समाजमा समेत नराम्रो असर पारिराखेको हुन्छ ।
भारतबाट आएका नागाबाबाले आफूसँगै गाँजा तथा भाङ पनि ल्याउने गर्छन् । त्यसको कारणले पनि नेपालमा विकृति बढिरहेको छ । नागाबाबाहरू आफ्नो आस्थाले नेपालमा आउनु राम्रो हो, तर आफूसँगै यस्ता मादक पदार्थ ल्याउन के जरुरी छ र ? गाँजा, भाङको सेवन गरेर मात्र पर्व मनाइन्छ भनेर कुन किताबमा लेखिएको छ ? सामान्य तरिकाले पर्व मनाउन सकिन्न र ? यसरी नशामा मग्न भएर पर्व मनाउनु सट्टा समुदायमा भजनकीर्तन, नाचगान गरेर, फलफूल, हलुवा, रोटी, तरकारीजस्ता सामान्य प्रसाद बनाएर प्रसाद ग्रहण गरी भगवान्को नाममा जप गरेर बस्दा मनमा अर्कै आनन्द आउँछ । अनावश्यक रूपमा पैसा खर्च गरी मादक पदार्थ सेवन गर्नुसट्टा दीनदुःखी, गरिब, बेसहारा वृद्धवृद्धाहरूलाई त्यस दिन खाना खुवाएर, उनीहरूलाई जति आफ्नो क्षमता छ त्यही अनुसार सहयोग गरेर पर्व मनाउनाले पुण्य कमाइन्छ । दानपेटीमा पैसा खसाल्दैमा धर्म हुन्न, बरु उक्त पैसाबाट जति पनि लत्ताकपडा या खानेकुराहरू किन्न सकिन्छ, ती सबै कुरा किनेर सम्बन्धित व्यक्तिसम्म पु¥याई हस्तान्तरण गरेमा त्यसबाट पनि हामीले मनको शान्ति पाउन सक्छौं ।
सानासाना नानीबाबुहरूले त्यस दिन चोकचोकमा बाटो छेकेर शिवका लागि भनेर पैसा माग्ने गर्छन् । यो चल्दै आएको परम्परा पनि हो । तर, बाटोमा त्यसरी डोरी टाँगेर बाटो छेक्दा कतिपय ठाउँमा सवारी दुर्घटना भएको हामीले प्रत्यक्ष देखेका र सुनेका पनि छांै । त्यसैले ती सानासाना नानीबाबुहरूलाई त्यस्तो कुराको ज्ञान नभए पनि हामी अभिभावकहरूले सम्झाएर होस् या फकाएर होस्, त्यस्ता क्रियाकलाप रोक्न सक्छौं ताकि भविष्यमा त्यस्तो दुर्घटना ननिम्तियोस् ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्