तातोपानीमा फस्टाउंदै होटल व्यवसाय «

तातोपानीमा फस्टाउंदै होटल व्यवसाय

जुम्लाको तातोपानी धारामा पर्यटकहरूको घुइँचो लाग्न थालेपछि आसपासमा होटल व्यवसाय फस्टाउँदै गएका छन् । तातोपानी धारामा नुहाउन तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेपछि होटल व्यवसायबाट मनग्य कमाइ हुन थालेको व्यापारीहरू बताउँछन् । चिसो बढेपछि हिजोआज दैनिक ५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । प्रायः तातोपानीमै बस्ने तथा खाने सोचले आउने गर्छन् । सबै टिकट सिस्टमबाट नुहाउने व्यवस्था गरिएको तातोपानी पर्यटन क्षेत्रका कर्मचारी हस्त बूढाले बताए । उनका अनुसार शनिबारको दिन अरू बेला भन्दा निकै भीड लाग्ने उनको भनाइ छ ।
तर अहिले खान–बस्नका लागि होटलको व्यवस्था भएपछि निकै राहत महसुस भएको पर्यटकहरू बताउँछन् । तर, अझै धारादेखि होटलको व्यवस्थापनमा जोड दिन सुझाव दिने गरेका छन् उनीहरूले । कर्णाली राजमार्ग हँुदै तातोपानी धारा जाने बाटोमा र धारा आसपास गरी झन्डै दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । चिसो सिजनमा तातोपानीमा पर्यटकहरू बढी आउने भएकाले प्रतिहोटलले ५ देखि १० लाख रुपैयाँसम्म कमाइ गर्ने अनुमान गरिएको छ । सामान्य होटल व्यवसायीले प्रत्येक हिउँद सिजनमा १ लाखभन्दा बढी कमाउने गरेका छन् ।
तर प्रभावकारी व्यवस्थापनको अभावले भने अझै अपेक्षाअनुसार पर्यटकहरू आउन नसकेको देखिन्छ । यसैबीच भर्खरै तातोपानी धारानजिक स्थानीय होटल व्यवसायी तेजेन्द्र रावलले झन्डै १ करोड ५० लाखभन्दा बढीको लागतमा सुविधा सम्पन्न होटल निर्माण गरेका छन् । विगत सात वर्षदेखि तातोपानीमा होटल गरेर पर्यटकहरूको सेवा गर्दै आएका उनी सबैको माग र आवश्यकताअनुसार होटलको संरचना बढाएको बताउँछन् ।
उनले भने, प्रत्येक कोठामा एटेच बाथरुमको व्यवस्था छ र निकै सस्तो तथा सुलभमा खाने, बस्ने र पार्किङको व्यवस्था सबै गरिएको उल्लेख गरे । होटल व्यवसायबाट गाउँमै लाखौंको आम्दानी गरिरहेका तेजेन्द्र रावल विदेशी युवाहरूका लागि उत्प्रेणाको स्रोत बनेका छन् । स्वदेशमै आफ्नो सीपअनुसारको रोजगारी गरे स्वदेशकै माटोमा सुन फलाउन सकिने उनको भनाइ छ ।
तातोपानीमा अहिले तत्काल सुरक्षाको चुनौती छ । यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने उल्लेख गरे । साथै शिक्षक पेसामा निकै अनुभव गरेका तथा लामो समयसम्म शिक्षा क्षेत्रमा आबद्ध राजु केसीले पनि सुविधासम्पन्न होटल निर्माण गरी सञ्चालन गरेका छन् । तातोपानीमा पहिलो चोटी फ्री वाईफाईदेखि एटेच बाथरुमसम्मको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार झन्डै १ करोडभन्दा बढीको लागतमा सुविधा सम्पन्न होटल निर्माण गरिएको हो । रिभर साइट नामक होटल तातोपानी धाराको पश्चिमपट्टि सञ्चालन गरिएको छ ।
तातोपानीमा आउने सयौं पर्यटकको खाने–बस्ने समस्यालाई मध्यनजर गर्दै होटल सञ्चालनको तयारी थालेको उनले बताए । अर्गानिक खाना तथा कोसेलीको व्यवस्था समेत होटलमै गरिएको उनको भनाइ छ । तातोपानी क्षेत्रमा बजार व्यवस्थापन समिति नहुँदा पनि फोहोर व्यवस्थापनदेखि होटल व्यवसायीहरूलाई नियमनमा ल्याउन सकस भएको छ । तर, करोडौंको लगानीमा होटलहरू धमाधम निर्माण भइरहेका छन् ।
व्यवस्थापनमा फितलो भए होटलको भव्यताले मात्रै आम्दानी र पर्यटकहरूको आकर्षण नबढ्ने विज्ञहरू बताउँछन् । तातोपानी क्षेत्र पर्यटकीय हिसाबले आकर्षणको केन्द्रबिन्दु भए पनि त्यसतर्फ गाउँपालिकाको कुनै दीर्घकालीन योजना नदेखिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।
उनका अनुसार त्यहाँको सुरक्षा व्यवस्था, धाराको व्यवस्थापनदेखि लिएर हरेक पक्षमा गाउँपालिका जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । तातोपानी धाराको सरसफाइदेखि सामानको सुरक्षाका विषयमा पनि धारा व्यवस्थापन समितिले अझै प्रभावकारी निगरानी गर्न नसेकेको गुनासो आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्