बलात्कृत बालिका र नानीको अन्धकार भविष्य «

बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

बालापनमै बलात्कारको शिकारबाट आमा बनेकाको भविष्य अन्धकारझै बनेको छ । पीडित स्वयंसँगको भेटमा उनीहरु भन्छन्, “आफ्नै त भविष्य अन्धकार छ । नानीको भविष्यको कुरा कसरी गरुँ ?”

नानीजस्तै आमा नानी स्याहार्दै, कोही सेभ होममा त कोही घरमा
ताप्लेजुङ-
गत माघ ११ गते आइतबार बिहानको करिब ११ बजेको थियो । बलात्कार पीडित बालिका र उनका परिवारसँग भेटघाटका लागि जिल्ला अस्पताल पुगें । सुत्केरी गराउनका लागि पुस १९ गते अस्पताल ल्याइएको थियो । पीडितको उद्धारमा आफू स्वयं संलग्न भएकाले भेटेर कुराकानी गर्नु नौलो कुरा भएन । तैपनि अस्पताल प्रशासनको अनुमतिमा जिल्ला अस्पतालको पोस्ट मेटल वार्डमा पुगे । विल्डिङको कोठा चिसो नहुने कुरै भएन । हरियो तन्ना विछ्याइएको बेड थियो । बेडमाथि नवजात शिशु काखमा च्यापेरी बसेकी १७ वर्षीया बालिका । पुस ६ गते उनले शिशु (छोरी) जन्माएकी थिइन् । जिउ हलुङ्गो भएर होला, ढोकाबाट भित्र छिर्नेवित्तिकै मुसुक्क हाँसिन् । यसै पनि कम बोल्ने । अझ लज्जालु स्वभाव । सुत्केरी हुनुपूर्व निकै आत्तिएकी थिइन् । तर आमा बनेसँगै त्रास हटेको उनको मुहारमा झल्कन्थ्यो । नजिकै थिए, पीडितका बुवा र आमा । गाउँबाट लिन आएका बुवा गाडीबाट ओर्लनेवित्तिकै अस्पताल आइपुगेका हुन् । बुवाले सोधे, “कस्तो छ तिमीलाई ?” न छोरी बोलिन्, न त उनकी आमा । केहीबेर सुनसान बन्यो । क्षणभरकै त्यो माहोलले भावुक बनायो । फेरि बुवाले भने, “ल ! कपडा तयार गर । गाडी आउने बेला हुन लाग्यो ।” त्यो दिन डिस्चार्ज हुने भएकाले उनीहरुको घर फर्कने तयारी थियो ।
पीडितका बुवाले डिस्चार्ज कागज बनाउन केहीबेर समय खर्चिए । त्यही बेला उनीहरुसँग कुराकानी गर्न समय मिल्यो । अस्पतालले दिएको बर्थ सर्टिफिकेटमा नवजात शिशुको बुवाको नाम छैन । किनकी बुवा को हुन्, थाहा छैन । बलात्कृत बालिका र ‘अवैध सन्तान’ ! केहीबेरको कुराकानीमा जति सक्दो चाँडा बाहिर निस्कन पाए हुन्थ्यो भन्ने पीडितको हतारो थियो । पोको पुन्तरो बोकेर बाहिर निस्किए । हिउँदयामको न्यानो घाम । नवजात शिशुका लागि घामसँग पहिलोपटक स्पर्श । अस्पताल आएकाहरुले निकै नौलो मानेर उनीहरुप्रति दृष्टि सोझ्याए । तर उनीहरु पीडित परिवारका हुन् भन्ने आभास हुनेगरिको क्रियाकलाप पटक्कै भएन । गाडी आइपुग्यो, तर भर्खर सुत्केरी भएकी बालिकाले गाडी चढ्न कति पनि अफ्ठ्यारो मानेनन् । पीडित, उनका बुवा र आमाले विदाईको हात हल्लाए तर केही बोलेनन् । हुनतः बलात्कार आरोपित मंसिर ८ गते जिल्ला अदालत ताप्लेजुङको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । आरोपितले २०७७ वैशाख १ गते बलात्कार गरेको पीडित परिवारले कात्तिक १३ गते प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । यद्यपी अदालतको अन्तिम पैmसला नहुन्जेल शिशुको वर्थ सर्टिफिकेटमा बाबुको नाम उल्लेख सम्भव छैन । पीडित बालिका परिवारसहित घर फर्किएका छन् । तर न्यायचाहिँ पर्खाईको विषय बनेको छ ।
माथि उल्लेखित बालिकाजस्तै बलात्कार पीडित १७ वर्षीया बालिकासँग गत असार २९ गते संवाद गरें । पीडितका अनुसार २०७६ मंसिर २५ गते उनी बलात्कृत भएकी थिइन् । विवाहको निम्तो मान्न गएकी थिइन् । त्यही बेला बलात्कृत भइन् । उनले भनिन्, “रातको समय भएकाले कति बजेको थियो, याद भएन । प्रतिकार गर्न कोसिस गरे तर सकिनँ ।” गर्भवती भएको ९ महिनासम्म पनि बालिकाको विषयमा समाजमा कसैले बोलेनन् । गाउँघरमै प्रसुती गराउन सम्भव नभएकाले अस्पताल ल्याउनैपर्ने बाध्यताले ढिलै भएपनि घटना सार्वजनिक भएको हो । पीडितलाई पनि अस्पतालमा स्थापना भएको ‘एकद्धार संकट व्यवस्थापन केन्द्रमा’ राखियो । पीडितले भदौ ८ गते छोरा जन्माएकी थिइन् । विपन्न परिवार र सुरक्षाका कारण पीडितलाई भदौ १२ गते प्रदेश नं. १ सरकारद्धारा संञ्चालित दिर्घकालिन पुनस्र्थापना केन्द्र÷गृह मोरङमा पठाइएको छ । गृहकी शाखा अधिकृत सुनिता भट्टराईका अनुसार बालिका र नानीको स्वास्थ्य अवस्था सामान्य छ । बालिकाले गृहमा बसेर पठनपाठनलाई अगाडि बढाएकी छिन् । आरोपितसँगको नाता कायम हुन्छ वा हुँदैन, अनुमान गरेर भन्न सक्ने अवस्था छैन । पीडितकी ५० वर्षीया आमाले भनिन्, “अदालतबाट फैसला भएपछि एकथोक होला । अरु त के भन्नु र !” आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा मुद्धा दर्ता भएको छ ।
१८ वर्षीया बालिका २०७५ मंसिर ३ गते बलात्कृत भइन् । गर्भवती बालिकाका परिवारले २०७६ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कार शिर्षकमा उजुरी दिएको थियो । प्रहरीकहाँ आउनुअघि गाउँघरमै जिम्मा लगाउने कोसिस नभएको भने होइन । तर आरोपित पक्षले अस्विकार ग¥यो । आरोपित विरुद्धको मुद्धा जिल्ला अदालतले पुस २० गते मुलतबीमा राख्न आदेश दिएको छ । न्यायाधिस प्रकाश राउतको इजलासले दिएको आदेशमा मुलतबीमा राख्न आदेश भएको तहसिलदार नवराज गौतमले बताए । तहसिलदार गौतमका अनुसार ३ वर्षसम्म पनि फरार प्रतिवादी पक्राउ नपरे मुलतबीमा राखिएको मुद्धा अदालतबाटै ब्यूँतिन्छ । जिल्लास्थित अधिकारकर्मीको पहलमा उनलाई इटहरीस्थित माया घर पठाइएको थियो । उनले त्यही छोरी जन्माएकी हुन् । २०७७ पुस २ गते जिल्ला अदालतमा झिकाइएकाले उनी आएकी हुन् । अदालतमा उपस्थित भएर घर गएकी हुन् । पीडितले भनिन्, “यतिका समय न्यायको टुंगो लागेको छैन । तीमाथि परिवारमा बस्न सक्नेगरिको अवस्था नहुँदा पीडामाथि पीडाले थिचिएकी छु ।” आफ्नो र छोरीको भविष्यको चिन्ताले पिरोलिएकी पीडितले केही समयका लागि गाँस, बास र कपासको व्यवस्थापनका लागि आफूलाई सहयोग गर्न अनुरोध गरेकी छिन् । पीडितले टेलिफोनमा भनिन्, “कानुनी प्रक्रिया चल्दै गर्छ । त्यतिन्जेल छोरी हुर्काउदै मेरो पढाईलाई अगाडी बढाउन पाए हुन्थ्यो ।” विगत सम्झँदै उनले भनिन्, “उ बेला नै मर्न चाहेर पनि समाजले मलाई मर्न दिएन् । बरु बाँचेर अरुको रमिते बनेकी छु भन्ने आभास मात्र हुन्छ ।” तर बाँचे मात्र न्याय प्राप्त हुने कुराले उनको जीवनमा आशाको दियो निभेको छैन ।
यी त जिल्लास्थित प्रतिनिधिमूलक घटना मात्र हुन् । बालापनमै बलात्कारको शिकारबाट आमा बनेकाको भविष्य अन्धकारझै बनेको छ । पीडित स्वयंसँगको भेटमा उनीहरु भन्छन्, “आफ्नै त भविष्य अन्धकार छ । नानीको भविष्यको कुरा कसरी गरुँ ?” भनिन्छ, तस्बिर आफै बोल्छ । अझ पीडाको झल्को दिनेगरि पीडितको शब्दले जो कोहीको मन अमिलो बन्छ । किनकी बलात्कार पीडितले चाहेर पनि पीडा भुल्न पाउँदैनन् । प्रहरी र कानुन व्यवसायीसँग वयान दिनुपर्छ । न्यायधिशकहाँ पनि ! अघिपछि सोधपुछ गर्नेजति सबैलाई भन भन्दा भन्नैपर्ने । कस्तो विडम्वना ! बरु पीडकबाट त एकपटक बलात्कार भएकी हुन्छे । तर त्यसपछि जो कोहीलाई पनि भन्नुपर्दा पटक–पटक बलात्कारमा परेझै महसुस गर्न बाध्य छन् । बलात्कृत बालिका र अवैध सन्तानप्रति समाजको दृष्टिकोण बदलिएको छैन । बरु पुरुषकै कुकृत्य र अपराधका कारणले बालिका वा महिला बलात्कृत भएको तथ्य गौण बन्छ । उल्टै पीडितमाथि दोष थोपर्छ । छिःछिः दुरदुरको कुरा गरिसाध्य छैन । अतः बलात्कृत बालिका र सन्तानको जीवन निर्वाह,जीवन रक्षा र समाजमा पुनस्र्थापित भएर सम्मानपूर्वक बाँच्न सक्ने अवस्था सृजना गर्न सरकारको चुनौतीको विषय बनेको छ । मुलकी अपराध संहिता २०७४ ले मञ्जुरीबीना करणी गरेमा वा मन्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको मानेको छ । अतः अदालतबाट आरोपितविरुद्ध कसुर ठहर भएको फैसला भएको खण्डमा पनि पीडितको उमेरअनुसार कसुर गर्नेप्रति जवरजस्ती करणी गरेको विषय आकर्षित हुने देखिन्छ । तथापी पीडितको जीवनयापन कष्टप्रद त बनेको नै छ । अझ बाँकी जिन्दगी…!

प्रतिक्रिया दिनुहोस्