दाङमा जनगणनाका लागि आठ सय जनशक्ति आवश्यक «

दाङमा जनगणनाका लागि आठ सय जनशक्ति आवश्यक

दाङ- ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुन लागेको हो ।
नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.संं १९६८ देखि सुरु भएको थियो । नेपालमा प्रत्येक १०÷१० मा जनगणना गर्ने गरिन्छ । दाङमा जनगणना २०७८ का लागि करिब ८ सय जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाको लागि सुपरिवेक्षक र गणक गरी करिब ८ सय जना परिचालन गरिने भएको हो । करिब २ सय सुपरिवेक्षक र साढे ६ सय गणक आवश्यक पर्ने अनुमान गरिएको तथ्याङ्क कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिए । ‘अहिलेसम्म करिब ८ सय जति जनशक्ति आवश्यक पर्ने अनुमान गरेका छौं । केही समयपछि यति नै संख्या चाहिने भनेर भन्न सकिन्छ,’ उनले भने । अहिले जनगणनाको लागि प्राविधिक तयारी थालिएको उनको भनाइ छ । १ जना गणकले २ सय ५० देखि ३ सय घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नु पर्ने छ । १ जना सुपरिवेक्षकको जिम्मामा ४ जना गणक रहने भएका छन् । गणकले तथ्याङ्क सङ्कलन गर्नु भन्दा पहिले सुपरिवेक्षकले घर सर्भे गर्नेछन् । सुपरिवेक्षकहरुले २०७८ साल वैशाख २६ देखि जेष्ठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने छन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरुले जेष्ठ २५ गते असार ८ गते सम्म गणना गरिने भएको छ । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ ।
जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने भएको छ । यसका लागि अनलाइन मार्फत फर्म भर्न सकिने छ । अनलाइनबाट फर्म भरेकाबाट छनोट गरिने भएको छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो ।
यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि गएको माघ १ गतेबाट फागुन मसान्त सम्म फर्म भर्न समय दिएको छ । इच्छुक व्यक्तिहरुले अनलाइमा फर्म भर्न समेत पोख्रेलले आग्रह गरे ।
अघिल्ला वर्षहरुमा शिक्षकलाइ परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जन शक्ति भर्ना गर्न थालिएको हो । ‘बेरोजगारलाइ रोजगार प्रदान गर्ने सकियोस भनेर करारमा लिन थालिएको हो,’ प्रमुख पोख्रेलले भने । जनगणनाका लागि चैत १ गतेदेखि जिल्लाहरुमा जिल्ला जनगणना कार्यालय स्थापना गरिने भएको छ । वैशाख १ गतेदेखि इलाका जनगणना कार्यालय स्थापना हुने तथ्याङ्क कार्यालय दाङका प्रमुख पोख्रेलले बताए । जिल्लामा ७ वटा इलाका जनगणना कार्यालय रहने भएका छन् । जनसङख्यालाई आधार मानेर जनगणनाका कार्यालयहरु स्थापना गरिने प्रमुख पोख्रेल बताउँछन् । कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइँसराइ आदि विवरणहरू सङ्कलन गर्ने गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घर दैलोमा गई सङ्कलन गरिएका तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्