अभिकर्ता नै बिमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर «

अभिकर्ता नै बिमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर

अभिकर्ता नै बिमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरूले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बिमा व्यवसायले गति लिने बताएका छन् ।
राष्ट्रय बिमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
राष्ट्रय बिमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बिमा व्यवसायलाई अभिवृद्घि गर्न देशभर छरिएर रहेका १२९ क्रियाशील-सक्रिय अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै अभिकर्ताहरूका कारण सामान्य जनतामा बिमा चेतनाको विकास गरी बिमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महत्वपूर्ण योगदान पुगेको बताए ।
आगामी दिनमा समेत बिमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ताहरू उत्पादन गरी व्यवसाय बृद्घिमा टेवा पु¥याउने कम्पनीको लक्ष्य रहेको बताए ।
पाँच दशक लामो पृष्ठभूमि भएको कम्पनीले बिमा व्यवसाय विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष उपाध्यायले प्रभावकारितामा आइपरेका प्रारम्भिक चरणका कतिपय जटिलताका गाँठा फुकाउने काम पनि भइरहेको बताए ।
कम्पनीले आफ्नो उद्देश्यअनुरूप बिमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतहरूलाई पूँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उनले कर्पोरेट ढाँचामा व्यवसायिक जोखिमसँग सम्बद्घ परम्परागत बिमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बिमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिंदै आएको बताए ।
सरकारको नीति तथा कार्यक्रमसँग तादम्यता हुने गरी सार्वजनिक सेवा प्रदान गर्नु र निजी तथा विदेशी कम्पनीहरूसँग प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उहाँले बताए ।
कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बिमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिवृद्घिमा उनीहरूको भूमिका उल्लेख्य रहेको बताए ।
कम्पनीले शाखा विस्तार गर्न थालनी गरेको जानकारी दिंदै उहाँले यसै वर्ष छ शाखा तथा उपशाखा सञ्चालन गरेको बताए ।
कार्यक्रममा कम्पनीमा आर्थिक वर्ष २०७६-७७ मा बिमा व्यवसाय प्रदान गर्ने उत्कृष्ट १० जना अभिकर्ताहरूलाई नगद पुरस्कार, एक लाख रुपियाँको दुर्घटना बिमा, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सम्मानित हुने उत्कृष्ठ १० जना अभिकर्ताहरूमा उत्तमबहादुर ऐर, बलराम श्रेष्ठ, विमल घिमिरे, नारायण गिरी, ऋषीराज पन्त, कविता घिमिरे, विरेन्द्र बहादुर शंकर, सरिता कुमारी जोशी, जानकी कुमारी ओझा, देबेन्द्र मैनाली हुनुहुन्छ । यसैगरी प्रत्यक्ष बिमा अन्तरगत सम्मानित हुने अभिकर्तामा सदिक्षा न्यौपाने, लक्ष्मण नेपाल, स्व. नवराज राउतकी छोरी सृष्टी राउत छन् ।
सो अवसरमा पेशागत बिमा अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगाना, पुरस्कृत अभिकर्तामध्येबाट विमल घिमिरेलगायतले पनि आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्