ताप्लेजुङ अग्निपिडितको ज्ञापनपत्र गृहमन्त्रीलाई «

ताप्लेजुङ अग्निपिडितको ज्ञापनपत्र गृहमन्त्रीलाई

ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।
ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्निपीडितको दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागीबाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितको लागि पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुुरु भइसकेको बताउनुभयो । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासको निम्ति भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।
तत्कालीन राहतका रूपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्